२६ कात्तिक, काठमाडौं ।

निर्वाचन आयोगले रुकुम र रोल्पामा भएका घटनालाई लिएर सुरक्षामा उत्पन्न भएको संवेदनशीलता, निर्वाचन सुरक्षा योजना र समग्र शान्ति सुरक्षाको विद्यमान अवस्थाबारेमा विस्तृतरुपमा छलफल र समीक्षा गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको उपस्थितिमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा निकायले प्रस्तुत गरेको सुरक्षा कार्ययोजना र प्रतिबद्धताबाट राजनीतिक दलका नेता, उम्मेदवार र मतदाताको पूर्ण सुरक्षा प्रदान गर्न सुरक्षा निकाय सक्षम रहेको निष्कर्ष निकालिएको छ ।

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुलाई लक्षित गरी आक्रमणले सुरक्षा व्यवस्थामै प्रश्न चिहृ उठाइरहेका बेला आयोगले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागी बोलाएको थियो ।

छलफलमा आयोगका पदाधिकारीले देशको समग्र शान्ति सुरक्षाबारे सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिनुका साथै उम्मेदवारको सुरक्षामा विशेष सतर्कता अपनाउन आग्रह गरेका थिए । छलफलपछि प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले निर्वाचनको प्रचारप्रसारका क्रममा मुलुकमा भईरहेका घटनाप्रति आयोगले सुरक्षा निकायको ध्यानाकर्षण गरेको भन्दै निर्वाचनको सुरक्षाको बिषयमा जानकारी लिएको बताए ।

उनले केहि भूमिगत समूहले अप्रिय घटना घटाउन सक्ने भन्दै त्यसप्रति सचेत रहन पनि आग्रह गरेका थिए । पछिल्ला केही दिनदेखि उम्मेदवारमाथि आक्रमणका प्रयासहरु भइरहेका छन् । शुक्रबार रुकुममा माओवादी नेता जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको थियो । त्यसको भोलिपल्टै शनिबार दिउँसो रोल्पामा माओवादी नेता वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको थियो । त्यस्तै आईतबार माओवादी नेता वर्षमान पुन चढेको गाडीलाई लक्षित गर्दे गोली प्रहार समेत भएको थियो ।