२१ असार, बैतडी । दशरथ चन्द नगरपालिका बैतडीका प्रमुख नरेन्द्रसिंह थापालाई उच्च अदालत दिपायलले प्रमुखको रुपमा कामकारबाही अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

बुधबार उच्च अदालतका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालको एकल इजलासले यस्तो आदेश दिएको हो ।

मतगणना परिणाम बदर गरी फेरि मतगणना गराउन माग गर्दै राप्रपाका प्रमुख पदका उम्मेदवार पुष्करराज जोशीले रिट दायर गरेका थिए । उच्च अदालत नियमावली २०७३ को नियम ६१ बमोजिम अन्तरकालीन आदेश माग गरेकाले निवेदनको व्यहोरा र बहस जिकिर सुन्ने र दुवैपक्षलाई रोहबरमा राखी छलफल गराउन उचित हुने निष्कर्षसहित छलफलका लागि असार २९ गतेको पेशी समेत तोकिएको छ ।

असार २९ गते दुवै पक्षसँगको छलफल गरी अदालतले फैसला सुनाउने भएको छ । काँग्रेसका नरेन्द्रसिंह थापासँग ६२ मतअन्तरले पराजित जोशीले गणनामा धाँधली भएको दाबी गर्दै आएका छन । थापा तीन हजार ७६२ मत ल्याएर विजयी भएको हो भने जोशीले तीन हजार ७०० मत प्राप्त गरेका छन ।