२७ भदौ, काठमाडौं ।

दशैका लागि आजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । लामो दूरीका सवारीका लागि नयाँ बसपार्कबाट टिकट लिन सकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

महासंघले नयाँ बसपार्कमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो । आज बिहान छ बजेदेखि अग्रिम टिकट बुकिङ नयाँ बसपार्कमा खुला भएको हो ।

भदौ २२ गतेदेखि खुला गर्ने भनिए पनि यातायात व्यवसायीको असहमतिका कारण यातायात व्यवस्था विभागले टिकट खुलाउन सकेको थिएन । तर गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरको पहलमा यातायात व्यवस्था विभाग र व्यवसायीबीच सहमति भएपछि खुल्ला गरिएको हो ।

बसको छत राख्न नपाउने कानूनी व्यवस्था भए पनि व्यवसायीको दबाबपछि यातायात व्यवस्था विभागले हालका लागि छत राख्न छुट दिएपछि व्यवसायीले अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएका हुन् ।

क्यारियरमा यात्रुका सामान तथा झोला राख्न पाउने गरी विभागले सहमति गरेको थियो ।