२८ साउन, दाङ ।

तीन बर्षपछि दाङमा बाढी विपत्ति निम्तीएको छ । शुक्रवार रातीदेखिको लगातार बर्षाका कारण यहाँका खहरे खोला तथा बबई नदीमा आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ भने २० भन्दा बढि घर बगाएको छ ।

यस्तै ५० भन्दा बढि घर डुवानमा परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ फूलवारीमा स्थानीय तुहि खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

स्थानीय भगवती सुनारलाई शुक्रवार राती खोलाले बगाएको हो । बाख्रा सार्न राती बाहिर निस्केको बेला उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । उनको शब आज बिहान घर नजिकै झ्याङमा अड्किएको अवस्थामा फेला परेको थियो ।

अहिले सम्म प्राप्त जानकारी अनुसार सबैभन्दा बढि तुलसीपुर उपमहानगरपालिकाको फूलवारीमा १३ घर बगेका छन् । स्थानीय तुहि खोलामा आएको बाढीले अम्बापुर, दमारगाउँ, मजघटुवा गाउँका १३ घर बगाएको स्थानीयले बताएका छन् ।

दंगीशरण गाउँपालिकाको गोल्टाकुरीमा ६ वटा र बबई नदीमा आएको बाढीले ६ घर भत्काएको स्थानीय प्रकाश डाँगीले जानकारी दिएका छन् । बबईको बाढीले ४० बढि घर डुबानमा परेको छन् ।

तीन बर्ष अघिको बाढीले ठुलो विपत्ति निम्त्याएको तुलसीपुर उपमहानगरपालिकाको मोतीपुर गाउँमा पुनः ४ घर बगाएको छ । तीन बर्ष अघि बाढीबाट विस्थापीत ४ परिवारलाई पुनः बबईले बिस्थापीत बनाएको छ ।

लमही नगरपालिकाको वडा नम्बर ९ अमिलियामा ७ घर स्थानीय खहरे खोलाले भत्काएको छ । स्थानीय फिरंगी खोलामा आएको बाढीले ७ घर बगाएको जनाईएको हो । बाढी धेरै स्थानमा बालीनालीमा समेत क्षति पु¥याएको छ ।