२४ असार, काठमाडौं । अलग गोर्खाल्याण्ड माग गर्दै भारतको दार्जिलिङमा नेपाली भाषीले गरिरहेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ ।

सुरक्षाकर्मीको गोली लागेर कम्तीमा १२ जना घाइते भएका छन् । सुरक्षाकर्मीको गोली लागेर गएराति एक जनाको र रातिको घट्नाको विरोधमा आज भएको प्रदर्शनमा थप दुई जनाको मृत्यु भएको कालिम्पोङको अनलाइन पत्रिका खबरम्यागेजिन डटकमले जनाएको छ ।

सीआरपीएफको गोलीबाट सोनादामा गएराति स्थानीय युवा टासी भुटिया र भुटिया हत्याको विरोधक्रममा आज तुङसुङका सुरज सुन्दास र रोपवेका समीर गुरुङको मृत्यु भएको हो । भुटियाको हत्याले आज दिनभर दार्जिलिङ, कालिम्पोङ, खरसाङ र मिरिक क्षेत्र तनावग्रस्त बनेको समाचारमा उल्लेख छ ।

हत्याकोे बिरोधमा दार्जिलिङका बिभिन्न स्थानमा तोडफोड भएको छ र सुरक्षाकर्मीसित भीडन्त पनि भएको छ । प्रदर्शनकारीले खुकुरी प्रहार गर्दा चार जना प्रहरी घाईते भएका छन । आन्दोलन चर्केपछि दार्जिलिङ र सोनादामा सेना परिचालन गरिएको छ ।