दाहालको दस्ताबेज : माओवादी पनि ‘संसदवाद’मा

८ साउन, काठमाडौं । बल प्रयोगको सिद्धान्तलाई आत्मसात गर्दै आएको माओवादी केन्द्रले औपचारिक रूपमै ‘संसद्वाद’ अवलम्बन गरेको छ । पार्टी सचिवालय बैठकमा शनिबार अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनलाई अब शान्तिपूर्ण र प्रतिस्पर्धात्मक रूपमा संस्थागत उपयोग गर्ने लिखित प्रस्ताव पेस गरेपछि माओवादीले औपचारिक रूपमा ‘संसद्वाद’ लाई अवलम्बन गरेको हो । दाहालको लिखित प्रस्तावलाई सचिवालय बैठकले पारित गरेको छ । दाहालले निर्वाचनलाई रुसमा लेनिनले ‘दुमा’ उपयोगको अर्थका रूपमा नेपालमा लिन नहुने भन्दै अब शान्तिपूर्ण र प्रतिस्पर्धात्मक नीति उपयोग गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको वर्तमान चरणमा पार्टीले निर्वाचनलाई लेनिनले ‘दुमा’ को उपयोग गरेको अर्थमा नलिई सर्वहारा श्रमजीवी वर्गको संघर्षले ल्याएको उपलब्धिलाई संस्थागत र उपयोग गर्ने नयाँ चरणको क्रान्तिको तयारीको अर्थमा ग्रहण गर्नुपर्छ’, सचिवालय बैठकले पारित गरेको दाहालको दस्ताबेजमा जोड दिइएको छ ।

लेनिनले सन् १९०५ को निर्वाचनमा पार्टी पराजित भएपछि पार्टी बचाउन भन्दै पुनः क्रान्तिमै जाने निर्णय लिनुभएको थियो । माओवादी केन्द्रले पनि यसअघि निर्वाचनलाई मात्र उपयोगका रूपमा लिँदै आवश्यक परे फेरि क्रान्तिमै फर्किने बताउँदै आएको थियो । तर, शनिबार पारित दाहालको राजनीतिक प्रतिवेदनपछि भने वैधानिक रूपमा अबदेखि उसले निर्वाचनलाई प्रयोग गर्ने स्पष्ट गरेको छ । केन्द्रीय सचिवालय बैठकमा यो विषयलाई व्याख्या गर्दै दाहालले पार्टी निर्वाचनमा पराजित भए पनि संस्थागत प्रयोग गर्नुपर्ने बताएको बैठकमा सहभागी एक नेताले अन्नपूर्णलाई जानकारी दिए ।

‘हामीले निर्वाचन नजिते पनि चुनावलाई अब उपयोग गर्दै जनताबाट नभागी संस्थागत र उपयोग गरेर जानुपर्छ’, दाहालको भनाइ थियो ।प्रतिगमन निम्त्याउने षड्यन्त्र दाहालले अहिलेको परिवर्तन उल्टाउन देशी÷विदेशी चलखेल भइरहेको पनि दस्ताबेजमा उल्लेख गर्नुभएको छ । परिवर्तन संवाहक पार्टीका नाताले माओवादीले प्रतिक्रियावादको जुनसुकै षड्यन्त्रको सामना गरेर जानुपर्ने दाहालले बताउनुभएको छ ।

‘अहिलेको परिवर्तन सामन्ती शक्ति, वैदेशिक प्रतिक्रियावादी शक्तिलाई पचेको देखिँदैन । ०६२÷६३ को जनआन्दोलनका सहयात्रीलाई पनि चित्त बुझेको छैन’, दाहालको गोप्य दस्ताबेजमा भनिएको छ, ‘कांग्रेसको बुर्जुवा यथास्थितिवादी धारा र एमालेको पहाडिया उच्च जातीय अन्धराष्ट्रवादी र परिवर्तनविरोधी संशोधनवादी धारालाई मलजल गरेर प्रतिगमनतिर लाने षड्यन्त्र भइरहेको छ । यसको सामना गरेर जानुपर्छ ।’

जनतासँग घनिष्ट सम्बन्ध गाँसिएको सुढृढ संगठन नै प्रतिक्रियावाद, अवसरवादविरुद्धको संघर्षमा सर्वहारावर्ग र श्रमजीवी जनसमुदायको अचुक हतियार हुने दाहालको दस्ताबेजमा उल्लेख छ ।

मनोगत अपेक्षाले पार्टी पराजित
दाहालले स्थानीय तह निर्वाचनमा पार्टीको अवस्था र जनताको अपेक्षा नबुझी मनोगत अपेक्षा राखेको पनि स्विकार्नुभएको छ । ‘वैचारिक, राजनीतिक रूपले अस्पष्ट र संगठनात्मक रूपले अस्तव्यस्त पार्टीले धेरै ठूलो नतिजाको अपेक्षा गर्नु नै मनोगत अपेक्षा हुन पुग्थ्यो’, दाहालले भन्नुभयो, ‘हाम्रो अपेक्षा मनोगत रह्यो ।’

निर्वाचनमा पार्टी हार्नुमा प्रतिक्रियावाद र अवसरवादविरुद्ध वैचारिक राजनीतिक संघर्षलाई उच्च प्राथमिकतामा राखी प्रकाशन, प्रशिक्षण, प्रचार र स्कुलिङलाई व्यवस्थित गर्न नसक्नुको परिणाम भएको दाहालको दस्ताबेजमा उल्लेख छ ।
‘शान्ति–सम्झौतादेखि आजसम्म भएका वैचारिक राजनीतिक कार्यादिशा सन्दर्भमा भएका बहस, अस्पष्टता, उतारचढाव, फुट विभाजन र एकताका असाधारण शृंखलाको समुचित संश्लेषण र बुझाइमा स्पष्टता र एकरुपताको अभावका कारण सिर्जित अराजकता आजको हाम्रो पार्टीको परिणामको प्रमुख कारण हुन्’, दाहालले भन्नुभएको छ ।

सारमा दाहालको दस्तावेज
– लेनिनको ‘दुमा’ नीति नेपालमा अनुपयुक्त
– शान्तिपूर्ण र प्रतिस्पर्धात्मक नीति अवलम्बन गरिने
– परिवर्तन उल्टाउन देशी÷विदेशी चलखेल
– कांग्रेस ‘बुर्जुवा यथास्थितिवादी’
– एमाले ‘पहाडिया अन्धराष्ट्रवादी’
– चुनाव जितेका स्थानमा आधारइलाका निर्माण
– केन्द्रीय समिति विघटन गरिने
– घोषणापत्र तयार पार्न नारायणकाजी श्रेष्ठको कमिटी
– टिकटका लागि रामबहादुर थापा नेतृत्वको समिति गठन