२५ कात्तिक, चितवन । कात्तिक १५ गते चितवन आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६ गते उम्मेदवारी दर्ता गराएपछि पाँच दिन जिल्लामै बिताए । कात्तिक २० गते काठमाडौं फर्कंदासम्म उनी दर्जनौं कार्यक्रममा सहभागी भए । उनको चुनावी अभियानमा असर पार्ने आकन गरिएको बाँदरमुढे घटनापीडितलाई भेट्ने योजना भने अधुरै रह्यो ।

१२ वर्षसम्म पनि पुष्पकमल दाहालसँग खुलेर सिधा कुरा गर्न नपाएका बाँदरमुढे घटनापीडित उनको व्यवहारबाट फेरि झस्केका छन् । अवस्था असहज बन्दै गए चुनावी मैदानमा उत्रिएका दाहाललाई असर पर्नेछ । आजको नागरिकमा खबर छ ।

काठमाडौं गएका दाहाल चार दिन नहुँदै फेरि बिहीबार चितवन फर्केर आफ्नो चुनाव क्षेत्रमा घरदैलोमा जुटेका छन् । उनका प्रतिस्पर्धी उम्मेदवार राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले माडी क्षेत्रमा घरदैलो सुरु गर्दा दाहाल भरतपुर क्षेत्रमा व्यस्त छन् । उनी अहिले माडी जाने हुन् वा हैनन् र बाँदरमुढे घटनापीडितलाई भेट्छन् भेट्दैनन् भन्ने चर्चा फेरि सुरु भएको छ ।

उम्मेदवारी दर्तापछि दाहाल घटना भएको गाउँ माडी नपुगेका पनि हैनन् । तर माडी वसन्तपुर बजारमा रहेको ‘जनयुद्ध’ का सहिदको स्तम्भमा माला चढाएका दाहाल घटनास्थल बाँदरमुढे गएनन् । उनले माडीमा रहेका बाँदरमुढे घटनापीडितलाई पनि भेटेनन् । तर बाँदरमुढे घटनापछि दाहाल पहिलो पटक स्थलमार्ग हुँदै माडी पुगे । स्वागत गर्नेको लाम लाग्यो । विरोध कसैले गरेन । निर्वाध रुपमा कार्यक्रममा सहभागी भए उनी ।

उनले आफ्ना मुख्य प्रतिस्पर्धी पाण्डेको पार्टी राप्रपा प्रजातान्किका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनालाई माओवादीमा ल्याए । कात्तिक १८ गते शनिबार दिनभर माडी बस्दा दाहालले चुनावी माहोल बनाएकै हुन् । सोही सभामा उनले बाँदरमुढे घटनाबरे बोल्दै दोषीलाई कारबाही र पीडितलाई राहतको व्यवस्था गर्ने ‘बचन’ समेत दिए ।

तर यति गर्दा पनि बाँदरमुढेको सकसले दाहाललाई नछाड्ने संकेत देखिएको छ । ‘दाहालले हामीलाई भेट्ने भनेर बोलाइयो तर नभेटी जाने काम भयो । यसप्रति हाम्रो गम्भीर आपत्ति छ’, बाँदरमुढे घटनापप्डित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपानेले कात्तिक १९ गते जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समितिका उपाध्यक्ष कृष्ण अधिकारीले आफूहरू बोलाएअनुसार माडी नगरपालिकाका मेयरको घर जाँदा त्यहाँ माओवादीका कोही नेता नभएको बताए ।

‘हामीलाई मेयरको घरमा आउनुस् भनेर बोलाइयो । आइतबार १५ जनाजति पीडित त्यहाँ पुगेका थियौं । तर त्यहाँ कुरेर बसेका हामीलाई एकाएक माडीका मेयरको घरमा हैन भरतपुरका मेयरको घरमा आउनु पो भनियो । साँझ परेपछि यसोभन्दा हामीलाई साह्रै पीडा भयो । धोका दिएझैं लाग्यो’ अधिकारीले भने । पीडितहरू फर्केर विज्ञप्ति निकालेपछि सुधारोन्मुख देखिएको सम्बन्धमा फेरि आशंका बढेको छ ।

माओवादी संघर्षका बेला २०६२ साल जेठ २३ गते बिहान यात्रुले खचाखच सार्वजनिक बस माओवादीले थापेको विद्युतीय धरापमा परेको थियो । धराप विस्फोट हुँदा ३८ जना यात्रुको तत्कालै ज्यान गयो । ७२ जना घाइते भए । सो घटना माओवादी पक्षबाट भएको ‘जनयुद्ध’ कालकै सबैभन्दा गम्भीर भुल भएको दाहालले तत्कालै स्वीकारेका थिए । शनिबारको सभामा पनि उनले यही कुरा दोहो¥याए ।

उपयुक्त समयमा पीडितलाई भेटेर क्षमा माग्नेछु भन्ने १२ वर्षअघि गरेको बाचा दाहालले माडीमा दिन बिताउँदा पनि पूरा गर्न भ्याएनन् । माडी आफ्नो पूर्णकालीन राजनीतिको पहिलो कार्य क्षेत्र भएको दाहाल बताउँछन् । तर दाहाललाई चुनावमा दुई विषयले तनाव र सकस दिने सम्भावना छ ।