मानव शरीरको मूख्य सञ्चालन केन्द्र नै ‘मस्तिष्क’ हो, दिमाग हो। हामीले गर्ने हरेक कुराहरू; खाने कुराको स्वाद थाहा पाउने देखि लिएर जुत्ताको तुना कस्ने काम समेत दिमागकै कारणले सम्पन्न भएको हुन्छ। भौतिक रूपमा त शरीरका अङ्गहरू (हात, मुख, कान, खुट्टा, आदि।)ले काम गरेको देखिन्छ, तर ती भौतिक अङ्गहरूलाई पनि दिमागले नै नियन्त्रण गरिरहेको हुन्छ। अरूको त कुरा छोड्दिउँ, मुटुजस्तो संवेदनशील अनि महत्वपूर्ण अङ्गलाई समेत ‘दिमाग’ले नियन्त्रण गरिरहेको हुन्छ।

अनुसन्धानको अनुसार, व्यायाम नै दिमागलाई स्वस्थ राख्ने माध्यम हो। हुन त हाम्रो खाने बानीले पनि दिमागको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ। तर स्वस्थ खाना खाँदैमा मात्र दिमाग स्वस्थ हुन्छ भन्नु गलत हो। जसरी बाह्य शरीरलाई स्वस्थ राख्नको लागि नियमित व्यायाम गर्नुपर्छ, त्यसरी नै दिमागलाई स्वस्थ राख्नको लागि यसको हलुका कसरत गर्नु जरुरी हुन्छ। अझै अनुसन्धानबाट के पनि पत्ता लागेको छ भन्दा, जसले नियमित दिमागको कसरत गर्छ, उसको दिमागको आयु बढेको पाइएको छ। अनि जसले दिमागको व्यायाम नै गर्दैन, उसको दिमाग उमेरसँगै खुम्चँदै जाने र अन्त्यमा यसले राम्रोसँग काम नै गर्न छाड्ने तथ्य उक्त अनुसन्धानबाट प्राप्त भएको छ।

त्यसो भए दिमागको व्यायाम कसरी गर्ने त?

१. आँखा सलबलाउने

कुनै काममा आफ्नो ध्यानलाई एकतृत बनाउन चाहनुहुन्छ भने, करीब ३० सेकेण्डसम्म आफ्नो आँखालाई दायाँ-बायाँ गरी सलबलाउनुहोस्। हाम्रो मस्तिष्कको दायाँ र बायाँ भागले भिन्दाभिन्दै काम गर्दछ, त्यसैले दिमागका यी दुई भागको बीचमा सञ्चार गराउन सक्यो भने, मस्तिष्कको काम गर्न सक्ने क्षमतामा वृद्धि हुन्छ।wiggle your eyes

२. झ्याल बाहिर टोलाएर हेर्ने

अरूले तपाईँलाई पागल भन्लान्, अथवा दिउँसै सपना देख्यो भन्लान् तर सत्य कुरो के भन्दा एकछिनसम्म झ्यालबाट बाहिर टाढाटाढासम्म टोलाएर हेरिराखेपछि कुनै काममा दिमागको एकाग्रता बढ्दछ। यस्तो किन हुन्छ भन्दा, कुनै पनि दृश्यात्मक बाधा नभएको बेला (जस्तै टिभी वा कम्प्यूटरको स्क्रीनमा नहेरेको बेला)  दिमागले नयाँ विषयको बारेमा खुलेर सोच्न सक्दछ।stare through window

३. नयाँ ठाउँ जाने

घुमघाम गर्दा, कुनै नयाँ ठाउँमा यात्रा गर्दा दिमाग फ्रेस हुन्छ। तर, अमेरिकाका मनोवैज्ञानिकहरू भन्छन्, यसले दिमागको काम गर्न सक्ने क्षमतामा पनि वृद्धि गर्दछ। कुनै नौलो ठाउँमा यात्रा गर्दा मानिसमा मनोवैज्ञानिक कायापलट (परिवर्तन) हुन्छ जसले मस्तिष्कको क्षमतालाई विस्तार गराउँदछ। तर यात्रा गर्ने व्यक्तिले नयाँ ठाउँको वातावरण र संस्कृतिलाई पनि आफ्नै घरजस्तो ठानेर व्यवहार गर्यो भने मात्रै दिमागमा यस्तो परिवर्तन आउने मनोवैज्ञानिकहरू बताउँछन्।go travel

४. धेरै गन्थनमन्थन नगर्ने

चाँडै चाँडै नतिजा निकाल्नुपर्ने कार्यालयहरूमा सबैजना बसेर कुनै निश्चित विषयमा गन्थनमन्थन गर्ने गरिन्छ। तर अनुसन्धानले के देखाउँछ भन्दा, यसले झन् दिमागलाई लाटो बनाउँदछ। त्यसको सट्टा एक्लै बसेर सोच्दा बरु नवीन अनि रचनात्मक आइडियाको विकास हुन्छ। यसरी सामुहिक रूपमा गन्थनमन्थन गर्दा कतिपयले आफ्नो मनको विचारलाई पोख्न सकिराखेका हुँदैनन् जसले गर्दा त्यहाँ कुनै नयाँ धारणा प्रस्तुत हुन सक्दैन। त्यसैले कुनै पनि जटिल समस्याको समाधान चाहनुहुन्छ भने आफ्नै ज्ञान र बुद्धिलाई खेलाउनुहोस्, अरूसँग गन्थनमन्थन नगर्नुहोस्।Brainstorming is bad

५. कोठाको भित्तामा रातो अथवा नीलो रङ्ग लगाउने

वरिपरीको वातावरणले पनि मानिसको दिमाग र सोच्ने मनस्थितीलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ, तर मानिसहरूले यो कुरालाई त्यति मतलब गर्दैनन्। विशेष गरी विभिन्न प्रकारका रङ्गले दिमागमा पनि त्यस्तै किसिमको प्रतिक्रिया हुने गर्दछ। अनुसन्धानबाट कोठाको भित्तामा रातो अथवा नीलो रङ्ग लगाउँदा दिमागको क्रियाकलाप गर्न सक्ने क्षमतामा वृद्धि हुने तथ्य पत्ता लागेको छ।

(खाने भाँडाको रङ्गले पनि दिमागलाई प्रभाव पार्दछ, कसरी थाहा पाउन यहाँ क्लिक गर्नुहोस्)

६. हरीयो रूखमा नियाल्ने

भनिन्छ, प्रकृति नै सबैभन्दा महान् गुरु हुन्। लियोनार्दो दा भिन्चीले पनि प्रकृतिलाई नै नियालेर पहिलो विमानको डिजाइन तयार पारेका थिए। न्यूटनले पनि प्रकृतिकै प्रशिक्षणबाट गुरुत्वबलको रहस्य पत्ता लगाएका थिए।

यसको मतलब यहि हुन आउँछ कि, कहिलेकाहिँ बाहिरी प्रकृतिलाई नियालेर हेर्दा दिमागको एकाग्रशक्ति बढ्दछ। फेरि हरीयो वनजङ्गलको बाटो हिँड्दा कति फ्रेस हुन्छ भनेर त सायद भनिराख्नुनपर्ला। अनुसन्धानले के बताएको छ भन्दा, एकछिनसम्म हरीयो रूख अथवा हरीयो वनलाई ध्यान दिएर नियाल्यो भने त्यसपछि जस्तो सुकै झ्याउलाग्दो अनि कठीन काम पनि सजिलै गर्न सकिन्छ।stare into green trees

नजिकै रूख उपलब्ध छैन भने, हरीयो रूखको तस्विर हेर्दा पनि उस्तै प्रभाव हुने मनोवैज्ञानिकहरूले सुझाब दिन्छन्। यस्तो किन हुन्छ भन्दा हरीयो रङ्गले मस्तिष्कलाई क्रियाशील बनाउँदछ।

७. महत्वपूर्णः मीठो निन्द्रा लिने

अधिकांश अन्धविश्वासीहरू के पनि विश्वास गर्छन् भन्दा ‘धेरै सुत्ने मानिसले कुनै पनि प्रगति गर्न सक्दैनन्’। अब यसमा ‘प्रगति’ केलाई भन्ने कुरा आउँछ। नसुती नसुती शरीरलाई दास बनाएर पैसा कमाउनु ‘प्रगति’ कि, आरामले मीठो निन्द्रा लिएर शरीर र दिमागलाई स्वस्थ बनाएर फ्रेस भै काम गर्नु ‘प्रगति’?

त्यो कुरा यहिँ छाड्दिउँ!have a good night's sleep

दिमागलाई पनि एक किसिमको मेमोरी कार्ड नै भन्न मिल्छ। दिनभरी तपाईँले लाखौँ कुराहरू हेर्नुहुन्छ, हजारौँ कुराहरू सुन्नुहुन्छ। ती सबै घटनाहरू तपाईँको दिमागको मेमोरी कार्डमा तस्विरको रूपमा बसेका हुन्छन्। अनि जब तपाईँ सुत्नुहुन्छ नि, ती सबै तस्विरहरू दिमागको एउटा मेमोरी कार्ड (अस्थायी) बाट अर्को मेमोरी कार्ड (स्थायी) मा सुरक्षित गरेर राखिदिन्छ र अर्को दिनको लागि मेमोरी कार्ड खाली बनाएर राखिदिन्छ।

तर यदि तपाईँ सुत्नुभएन भने अब त्यहाँ मेमोरी ओभरलोड हुन थाल्छ, दिमाग ह्याङ्ग हुन्छ, टाउको दुख्छ, रिस उठ्छ, थकाइ लाग्छ अनि तस्विरको रूपमा बसेका घटनाहरू पनि असुरक्षित हुन्छन्, हराएर जानसक्छन्।

(निन्द्रा नलाग्ने समस्या छ? ६० सेकेण्डमै निदाउनको लागि यस्तो गर्नुहोस्)

अन्त्यमा,

मेमोरी कार्डकै प्रसङ्गलाई जोडौँ। तपाईँले मेमोरी कार्डमा जति धेरै तस्विरहरूलाई संगालेर राख्नुहुन्छ (ओभरलोड नहुने गरी), त्यति नै तपाईँले त्यसबाट भरपूर सुविधा लिन पाउनुहुन्छ। भन्नाले धेरै तस्विरहरू हेर्न पाउनुहुन्छ। दिमागको विषयमा पनि त्यस्तै हो भन्न सकिन्छ।

यदि तपाईँले पर्याप्त मात्रा नियमित दिमागको कसरत गर्ने बानी बसाल्नुभयो भने बिस्तारै दिमागको काम गर्न सक्ने क्षमता वृद्धि भएको महशुस गर्न सक्नुहुन्छ। त्यसको लागि आफ्नो खाने बानीलाई पनि सन्तुलित अनि स्वस्थ बनाउनु जरुरी हुन्छ।

यो पनि हेर्नुहोस्-
स्मरण शक्ति बढाउने ६ अचुक शुत्र
दिमागमा राख्नुस् यी १२ कुराः कहिल्यै अशान्ती हुँदैन
दिमागलाई नोक्सानी पुर्याउँछ यी ७ गल्तीले
दाहिने र देब्रे, दिमागको दुवै पाटोलाई कसरी सक्रिय गर्ने? १० टिप्स…
वैज्ञानिकहरू भन्छन्- ‘हेभी मेटल’ सङ्गीतले दिमागलाई सन्तुलनमा ल्याउँदछ