३० कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईभन्दा बढी डिम्याट खाता सञ्चालन नगर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

बोर्डले आज सूचनामार्फत एक व्यक्तिले दुई वटासम्म डिम्याट खाता खोल्न सक्ने व्यवस्था रहे पनि सोभन्दा बढी खाता रहेको पाइएकाले तत्काल सच्याउन आग्रह गरेको छ । दुईभन्दा बढी खाता सञ्चालन गरिरहेका हितग्राहीले आफ्नो सम्पूर्ण धितोपत्र दुई खातामा हस्तान्तरण गरी अन्य खाता बन्द गराउन बोर्डले आग्रह गरेको हो ।

बोर्डले गत भदौ मसान्तसम्मका धेरै खाता भएका हितग्राहीलाई दुई खाता मात्रै सञ्चालन गराउन भनिए पनि धेरैले समय माग गरेकाले समय थप गरिएको थियो ।

बोर्डले दुईभन्दा बढी हितग्राही खाता रहेका लगानीकर्ताले ३५ दिनभित्र बढी भएका खाता बन्द गर्न अनुरोध गरेको हो । सो अवधिभन्दा पछाडि दुईभन्दा बढी खाता भए बोर्ड आफँैले त्यस्ता खाता बन्द गराउनेसमेत विज्ञप्तिमा उल्लेख छ ।