२३ वैशाख, नुवाकोट । नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीमा अज्ञात समूहले गए राति आगजनी गरेको छ ।

शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा ११ च ३४९९ नं को स्कार्पियो गाडीमा तोडफोड गरी आगजनी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

चुनावी प्रचारबाट फर्केर राति ११ बजे पञ्चकन्या गाउँपालिका–५ शिवालयमा रोकिराखिएको अवस्थामा अज्ञात समूहले गाडीमा क्षति पु-याएको र अहिले घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तोडफोड र आगजनीबाट गाडीका इन्जिन, सिट, झ्याललगायतमा पूर्ण क्षति पुगेको छ ।

शुक्रबार मात्र शिवपुरी गाउँपालिका–७ मा नेकपा (एमाले)बाट वडाध्यक्षका उम्मेदवार राजाराम गुनीको प्रचार अभियानमा काँग्रेस कार्यकर्तासँग झडप भएको थियो । झडपमा घाइते भएका एमाले समर्थित चन्द्रबहादुर तामाङलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

दार्खा(धादिङ)–थाँक्रे गाउँपालिकामा आज बिहान चुनाव प्रचारका लागि प्रयोग गरिएको एउटा गाडीमा आगजनी भएको छ ।

बिहान १:३० बजे गाउँपालिकाको सङ्ग्रामटारमा बा ९ च ८९२९ नंको हाइलक्स जिपमा आगजनी भएको हो । नेकपा(एमाले)का तर्फबाट थाँक्रे–२ का वडाध्यक्षका उम्मेदवार राजकुमार पौडेलले आफ्नो चुनावी प्रचार सकेर घरको परिसरभित्र राखेको अवस्थामा गाडी जलाइएको हो ।

मध्य रातमा आएका तीन जनाको अज्ञात समूहले गाडीमा तोडफोड गरी पेट्रोल छर्केर आगो लगाई भागेको बताइएको छ । गाडीमा आगलागी भएलगत्तै प्रहरीले आगलागीमा संलग्नको खोजीलाई तीव्र बनाएको छ । रासस