२९ भदौ, धनुषा ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संबिधान संशोधन प्रस्ताव फेरी व्यवस्थापिका संसदमा ल्याईने बताएका छन् । धनुषाको सहीदनगरपालिका यदुकुहामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले एमाले र राप्रपाका कारण मधेशी जनताका अधिकार स्थापित गर्न नसकिएको टिप्पणी गरे ।

‘मैले मधेशी जनताका जायज माग पुरा गर्न निकै कोशिश गरे । संशोधन प्रस्तावलाइ मतदानमा लगियो तर पुराना राजामहाराजावादी र परिवर्तन नचाहने पार्टीहरूका कारण पारित गर्न सकिएन ।’ प्रचण्डले भने, ‘अब प्रदेश र केन्द्रमा परिवर्तनकारी शक्तिहरूको बहुमत भएको बेला फेरी प्रस्ताव ल्याएर मधेशी जनताको अधिकारको ग्यारेंटी गरिनेछ ।’

संबिधान संशोधन प्रस्ताव पारित नभएपनि सबै दललाई निर्वाचनसम्म ल्याई पुर्याउन सफल भएको बताउंदै प्रचण्डले भने, ‘संशोधन प्रस्ताव पारित हुन सकेन तर यो संबिधान केही होईन भन्ने होईन, सामाजिक न्याय, समावेशिता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता कुरालाइ यसले संस्थागत गरेको छ ।

अब प्राप्त उपलब्धिको रक्षा गरेर बाँकि मुद्दालाई संशोधनमार्फ़त हल गरेर यसको सर्वस्वीकार्यता बढाउन हाम्रो कोशिस हुने छ ।’

स्थानीय तह, माओवादी जनसत्ताकै अर्को स्वरूप

अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन चानचुने उपलब्धि नभएको बताए । यो पंचायती चुनाव ज़स्तो या गाविस अध्यक्ष चुने ज़स्तो नभइ स्थानीय सरकारको चुनाव भएकोले यसको महत्व बुझ्न उनले अपील समेत गरे ।

‘तपाईहरूले गाऊँको, आफ्नो क्षेत्रको प्रधानमन्त्री चुन्ने अवसर पाउनु भएको छ । यो २० वर्षपछिको पहिलोपटक हुन गईरहेको र गुणात्मक रूपले फ़रक़ ऐतिहासिक चुनाव हो ।’

प्रचण्डले भने, ‘हिजो हामीले जनसत्ता र जनसरकार संचालन गरेका थियौ तर त्यसले वैधानिकता पाएको थिएन । स्थानीय तहको निर्वाचनबाट बन्ने अहिलेको सरकार पनि त्याहि जनसरकार हो, बैधानिक र सबैले मान्यता दिएको स्थानीय सरकार ।’