२ साउन, काठमाडौं । आगामी असोज २ गते हुने दुई नम्बर प्रदेशको स्थानीय चुनावलाई प्रतिष्ठाको विषय बनाउँदै प्रमुख राजनीतिक दलहरूले चुनावी रणनीति सुरु गरेका छन्। १ सय २७ स्थानीय तह भएको दुई नम्बर प्रदेशमा प्रमुख दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रमात्र नभई मधेसकेन्द्रित दल, संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिक पनि चुनावी प्रतिस्पर्धाका लागि केन्द्रित भएका छन्। राजपासमेत संविधान संशोधन नभए पनि दुई नम्बर प्रदेशको चुनावमा जान सक्ने संकेत गरेको छ। राजपाले दुई नम्बर प्रदेशको चुनावलाई उपयोग गर्न खोजेको छ।

दुई मधेसकेन्द्रित दल फोरम नेपाल र लोकतान्त्रिक फोरम नेपालका नेताहरूले दुई नम्बर प्रदेशमा आफ्नो स्थिति अरू प्रदेशमा भन्दा धेरै सुधार हुने विश्वास गरेका छन्। त्यसमा पनि मधेसकेन्द्रित दलहरूले तालमेल गरेर चुनावमा गए प्रमुख दलहरूसमेत पछि पर्ने उनीहरूको निष्कर्ष रहेको छ। नेपाली कांग्रेसले पनि दुई नम्बर प्रदेशलाई आफ्नो भोट बैंक मान्दै पहिलो र दोस्रो चरणको चुनावमा भएको क्षति दुई नम्बर प्रदेशबाट पूर्ति हुनसक्ने अनुमान गरेको छ। यता, एमाले पनि दुई नम्बर प्रदेशमा अरू प्रदेशमाझैं पहिलो पार्टी हुनेमा विश्वस्त छ। आजको नागरिकमा खबर छ ।

नेपाली कांग्रेसले आगामी साउन ५ गते काठमाडौंमा दुई नम्बर प्रदेशको भेला बोलाएको छ। सो भेलामा दुई नम्बर प्रदेशमा रहेका जिल्ला सभापति, तथा त्यहाँबाट प्रतिनिधित्व गर्ने संासद र केन्द्रीय सदस्यहरू उपस्थित हुनेछन्। भेलालाई कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। पाँच गतेको भेलापछि कांग्रेसका नेताहरू दुई नम्बर प्रदेशमा केन्द्रित हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादवले बताए। उनले भने, ‘दुई नम्बर प्रदेशमा नेपाली कांग्रेस पहिलो पार्टी हुनेगरी कांग्रेसले अभियान नै सुरु गर्दैछ।’ दुई नम्बर प्रदेशमा कांग्रेस सुरुदेखि नै पहिलो पार्टी भएको बताउँदै यादवले भने, ‘त्यो इतिहास अहिले पनि कायम रहन्छ।’ यसैगरी साउन ९ गते जनकपुरमा कांग्रेसले नेपाल प्रेस युनियनसँग समन्वय गरी अर्काे कार्यक्रम राखेको छ। सो कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरू सहभागी हुने युनियनका महासचिव अजयबाबु शिवाकोटीले बताए। दुई नम्बर प्रदेशमा विजयी हुन कांग्रेसले दुई नम्बर प्रदेशका आफ्ना सबै पार्टीपंक्तिहरूलाई परिचालन गर्ने भएको छ।

यसैगरी एमालेले पनि दुई नम्बर प्रदेशको चुनावलाई पहिलो प्राथमिकतामा राखेको छ। आइतबार बसेको एमालेको स्थायी समितिको बैठकमा दुई नम्बर प्रदेशमा चुनावको तयारी बारेमा छलफल भएको थियो। एमालेका सचिव प्रदीप ज्ञवालीले दुई नम्बर प्रदेशमा निस्पक्ष चुनाव भएमा एमाले अरू प्रदेशमाझैं दुई नम्बर पनि पहिलो हुनेमा कुनै शंका नभएको बताए। ‘दुई नम्बर प्रदेशमा हामी पहिलो पार्टी हुनेमा कुनै शंका छैन। चुनाव निस्पक्ष र धााँधलीरहित हुनुपर्छ भन्ने हाम्रो माग हो’, ज्ञवालीले भने। दुई नम्बर प्रदेशमा चुनाव जित्न एमालेले जिल्ला समिति र जिल्ला तदर्थ सबै समितिलाई परिचालन गर्ने भएको छ। यसैगरी केन्द्रीय नेताहरू पनि दुई नम्बर प्रदेशमा जाने भएका छन्। मतदाता सुरक्षालाई एमालेका नेताहरूले विशेष ध्यान दिने भएका छन्। सचिव ज्ञवालीले मतदाताको सुरक्षाको विषयलाई पनि एमालेले उठाउने बताए। दुई नम्बर प्रदेशमा विजयी हुन एमालेले अन्य पार्टीसँग तालमेल पनि गर्न सक्ने ज्ञवालीले बताए। एमालेले अर्को हप्ताबाट दुई नम्बर प्रदेशमा अभियान नै सुरु गर्ने तयारी गरेको पनि एमालेका नेताहरूले जनाएका छन्।

दुई नम्बर प्रदेशलाई माओवादी केन्द्रले पनि प्रतिष्ठाको विषय बनाउने भएको छ। चुनावको समीक्षा गर्न माओवादी केन्द्रको सचिवालयको बैठक सोमबारदेखि बस्दै छ। समीक्षा बैठक सकिएपछि पार्टीले आफ्नो सबै ध्यान दुई नम्बर प्रदेशमा केन्द्रित गर्ने पार्टीकी प्रवक्ता पम्फा भुसालले बताइन्। दुई नम्बर प्रदेशमा चुनाव जित्न पाटीका केन्द्रीय नेताहरू दुई नम्बर प्रदेशका सबै तहमा जाने पनि उनले बताइन्। ‘हाम्रो चुनावी समीक्षा बैठक सकिने बित्तिकै हामीले सबै ध्यान दुई नम्बर प्रदेशमा केन्द्रित गर्ने भएका छौं’, उनले भनिन्, ‘दुई नम्बर प्रदेशका सबै तहमा पार्टीका केन्द्रीय नेताहरू पुग्ने छन्।’

दुई नम्बर प्रदेशलाई दुई मधेसकेन्द्रित दल फोरम नेपाल र लोकतान्त्रिक फोरमले पनि प्राथमिकता दिएका छन्। दुई नम्बर प्रदेशको चुनावमा केन्द्रित हुन विगत चार दिनदेखि फोरम नेपालको बैठक पार्टी कार्यालय तीनकुनेमा बसिरहेको छ। बैठकको सबै ध्यान दुई नम्बर प्रदेशमा केन्द्रित भएको फोरम नेपालका नेता शिवजी यादवले बताए। दुई नम्बर प्रदेशमा फोरम नेपालले अरू प्रदेशमा भन्दा धेरै राम्रो परिणाम ल्याउने पनि उनले दाबी गरे। ‘दुई नम्बर प्रदेशमा हामीले राम्रो परिणाम ल्याउँछौं, त्यसका लागि हामीले निकै ठूलो तयारी गरेका छौं’, यादवले भने। दुई नम्बर प्रदेशमा अन्य पार्टीहरूसँग चुनावी तालमेल पनि हुनसक्ने उनले बताए। यसैगरी फोरम लोकतान्त्रिकले पनि दुई नम्बर प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर चुनावी अभियान सुरु गरेको फोरम लोकतान्त्रिकका नेताहरू बताउँछन्। अहिले राप्रपालगायतका साना पार्टीहरू पनि दुई नम्बर प्रदेशको चुनावमा केन्द्रित भएका छन्। दुई नम्बर प्रदेशमा २६ लाख ६४ हजार ७ सय ९२ मतदाता रहेका छन्।