३० वैशाख, काठमाडौं।

स्मार्ट चालक अनुमतिपत्रका लागि फारम भरेर पनि नपाउनेको सङ्ख्या दिनदिनै बढिरहदा सरकारले दुई महीनाभित्रमा ‘मास प्रिन्टर’ खरीद गरिसक्ने भएको छ । ‘मास पिन्टर’ खरीदका लागि ठेक्का आह्वान भइसकेकाले दुई महीनाभित्रमा आइसक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले खरीद प्रक्रियामा गइसकेकाले अब सेवाग्राहीले चालक अनुमतिपत्रका लागि लामो समय कुर्न नपर्ने बताए। उनले भने, “अबको केही महीनापछि नै सेवाग्राहीले फारम भरेको एकदुई हप्तामा नै चालक अनुमतिपत्र पाउनेछन् ।” कार्यालयमा अहिले झण्डै छ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका क्रममा रहेका महानिर्देशक दाहालले बताए।

उनका अनुसार छ महीना पहिले फारम भरेका सेवाग्राहीले अहिले चालक अनुमतिपत्र पाउन बाँकी रहेको छ । उनले भने, “मास प्रिन्टरले काम गर्न थालेसँगै यो अवधि कम हुँदै जानेछ ।” देशभर रहेका यातायात व्यवस्था कार्यालय प्रदेशमा हस्तान्तरण भइरहेपनि विभागले नै ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गर्दै आएको छ ।