दिनेश आचार्य ।

२२ फागुन, युएई । लगेजसहित खाडीबाट घर फर्किदै हुनुहुन्छ भने एउटा नयाँ नियमबारे जानकार हुनुहोस् । यही मार्च ८ देखि डोरीले बाँधेका लगेजमाथि युएईका अन्तराष्ट‍्रिय विमानस्थलले प्रतिबन्ध लगाउने भएका छन् ।

युएईका सबै अन्तराष्ट्रिय विमानस्थलले नयाँ नियम जारी गर्दै डोरी बाँधेका लगेज लैजान रोक लगाएका हुन् ।

नेपाल एयरलाइन्सका युएईस्थित कन्ट्री मेनेजर रमेश पौडेलका अनुसार धेरै ठूला र डोरीले कसेका गुन्टालाई यहाँका विमानस्थलले प्रतिबन्ध लगाएका हु्न् ।

पौडेलले घर फर्किँदा डोरीले नबाँधी लगेज लिएर जान नेपालीलाई आग्रह गरे । सुरक्षा र लगेज व्यवस्थापन सहजताका लागि भन्दै नियम परिवर्तन गरिएको हुनसक्ने उनले जानकारी दिए ।

यो नियमले नेपालीसँगै अन्य देशका नागरिक पनि प्रभावित हुनेछन् । नेपालसहित दक्षिण एसियाली मुलुकका नागरिकले कपडाको पोकोलाई डोरीले बाँधेर सामान लाने गर्छन् ।

युएई सरकारले जारी गरेको नियम अनुसार यसबाट भारत, पाकिस्तान, श्रीलंका, अफ्रिकन र बंगलादेशी नागरिक प्रभावित हुने छन् ।

नयाँ नियमका शर्त यस्ता छन्:
१. गोलो आकारको ब्याग बोक्न पाइँदैन ।

२. समतल सतह नभएको ब्याग बोक्न पाइँदैन

३. कुनै अनियमित या अनौठो आकारको ब्याग बोक्न पाइँदैन

४. एकदमै ठूलो र अस्वभाविक आकारको ब्याग बोक्न पाइँदैन

५. यी मापदण्डमा पुरा नगरेका ब्यागलाई बक्समा प्याकिङ गरेर ल्याउनुपर्नेछ ।