१२ वैशाख, एजेन्सी।

कोमामा गएका बिरामी फेरि तन्दुरुस्त हुने घटना निकै दुर्लभ मानिन्छ। मानिस कोमामा गएपछि फेरि सामान्य अवस्थामा फर्केर बोलचाल गर्न सक्नु चिकित्साक्षेत्रमा चमत्कार झै मानिन्छ। यस्तै एक चमत्कार दुबईमा एक नेपाली युवतीसंग घटेको छ।

दुबईमा रहेकी ३१ वर्षिया एक नेपाली युवती ८० दिनसम्म कोमामा गएसंगै उनको सिजेरियन क्षेत्रको आपतकालिन सर्जरी गरिएपछि चमत्कारिक ढंगले उनी एकाएक तङ्ग्रिएकी हुन।

८० दिनपछि अप्रिल ९ मा दुबईको एस्टर अस्पतालको शैयामा ब्युँझिदा देवी लामा श्रेष्ठसैग थिए उनका ३२ वर्षिय पति लोकेन्द्रनाथ श्रेष्ठ।

अस्पतालका प्रमुख तथा डाक्टर शेबाज बिचु यसलाई चमत्कार मान्छन्। उनी भन्छन्, ‘हामीले यो केशलाई चुनौतीको रुपमा लिएका थियौं। उनको बाँच्ने सम्भावनालाई लिएर हामीमा पटक पटक आशंका उब्जेको थियो। तर, उनको पतिको अडिग प्रेमले हामी पनि उत्प्रेरित भयौं। पत्नीसंगै आफु पनि मर्ने भन्दै हामीलाई उनले आफ्नो पत्नीको जीवन बचाउन भनेका थिए । पत्नीको खाटको छेउमा उनी जाग्राम नै बसे। उनले नै हामीलाई यो क्रममा दृढ राख्न सहयोग पुर्याए।’

देवी र लोकेन्द्र दुबईमै एक चर्चित कफि पसलमा काम गर्दा गर्दै प्रेम सम्बन्धमा गाँसिएका थिए अनि गएको जुनमा उनीहरुले विवाह गरेका थिए। ६ महिनाको गर्भवती रहेकी देवीले यसरी मृत्युसंग साक्षत्कार गर्छिन् भन्ने दुवैले सोचेका थिएनन्।

उनको पतिको अनुसार, देवीमा उनीहरुको पहिलो बच्चाको ६ महिना ४ दिनको गर्भ थियो। गत जनवरीमा १६ मा काम गर्दागर्दा उनी अचानक बिरामी परेकी थिइन। उच्च ज्वरो र वाकवाकी भएपछि उनले देवीलाई अस्पताल पुर्याएका थिए। तर ३ दिन अस्पताल राखेपछि उनको अवस्था झन् बिग्रियो, उनी बेहोस भइन अनि आइसियुमा भर्ना गर्नुपर्यो।

देवीको उपचार गरेका डा चैतन्य प्रभू भन्छन्, ‘बिरामीमा एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (ARDS) को समस्या देखिएको थियो, जुन गर्भाधारणको बेला देखिन सक्छ। उनको फोक्सोमा इन्फेक्सन थियो र त्यसमा तरल पदार्थ भरिएको थियो। यो प्रमुख समस्या बाहेक उनको मुटुको चाल अनियमित र कमजोर थियो। उनको कलेजो र किड्नी पनि प्रभावित भएको थियो। बाँच्ने सम्भावना निकै कम थियो। यो संगै उनको मिट्रल भल्भमा समस्या देखियो जसको लागि उनको अपरेशन गर्नुपर्थ्यो। यो सबै समस्या पश्चात उनलाई हामीले कोमामा राख्यौ, स्वासप्रश्वास आफै गर्न नसक्दा उनलाई भेन्टिलेटरमा राखेका थियौं।’

थुप्रै अंगले एकसाथ काम नगरेपछि उनको मुटु र मसल्स कमजोर थियो। उनले गर्भधारण गर्न नसक्ने भएपछि सिजेरियन क्षेत्रको अपरेशन गर्नु परेको थियो।

सामान्यतया भेन्टिलेटरमा राखिएका बिरामी अधिकतम १४ दिनपछि बिस्तारै कमजोर हुदै जाने गरेकोमा देवी ३ महिना भन्दा बढीसम्म भेन्टिलेटरमा रहिन।

अप्रिल ९ मा ब्युँझिएपछि उनलाई अहिले सामान्य वार्डमा नै सारिएको छ। उनको शरिरीक शक्ति फिर्ता गराउनको लागि उनलाई अहिले फिजियोथेरापी गराइदैछ।

उनलाई बिगत १०० दिनको कुनै सम्झना छैन, सम्झना छ त केवल दोहोरिरहेको त्यो सपना जहाँ उनी नेपालमा रेलमा यात्रा गर्दैथिइन।

देवी नेपालको आफ्नै गाउँ खोटुङ फर्कने योजनामा छिन्।