४ भदौ, काठमाडौं ।

चितवनमा अघिल्लो हप्ता भिषण बर्षापछि राप्ती र नारायणी नदीमा आएको बाढीले बगाएर भारत पुर्याएको दुर्लभ एकसिंगे गैंडाको उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जको टोली परिचालन गरिएको छ ।

बाढीले बगाएर थप तीन वटा गैंडा भारतीय बस्तीमा पुर्याएको पाईएकाले निकुञ्जमा फर्काउन प्राविधिक सहितको टोली परिचालन गरिएको चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।

अर्यालको नेतृत्वमा व्यवस्थापकिय टोली र बरिष्ठ पशुचिकित्सक डा. कमल गैरेको नेतृत्वमा प्राविधिक सहित गरी झण्डै ५० जनाको टोली शनिवारदेखि गैंडाको उद्धारका लागि खटिएका छन् ।

चितवनबाट गएको टोलीले भारतको वाल्मीकि नगरमा पुगेर गैंडाको निगरानी गरिरहेका जनाईएको छ । अर्यालका अनुसार तीन वटैं गैंडा उद्धार गरी ल्याउनका लागि डाट टोली तथा आवश्यक खोर सहित भारत पुगेका हुन् ।