२७ असोज, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिँदै देउवाले आज सरकार विस्तार गरेका हुन् ।

राप्रपाका दीलनाथ गिरी, जयन्त चन्द र विक्रम थापालाई मन्त्री तथा कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई राज्यमन्त्री नियुक्त गरिएको छ । नवनियुक्त मन्त्रीको सिफारिस बोकेर प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय पुगेका थिए ।

नवनियुक्त मन्त्रीहरुको सपथ भोलि हुने छ । अघिल्लो पटक दुई राज्यमन्त्री नियुक्त गर्दा नै आचार–संहिता विपरित भएको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण गराएपनि प्रधानमन्त्री देउवाले पुनः मन्त्रिपरिषद्को आकार बढाएका हुन् ।

मन्त्रिपरिषद्को संख्यामा एकपछि अर्को कीर्तिमान बनाएका देउवाले गरेको यो विस्तारसँगै सरकार अहिलेसम्मकै सबैभन्दा ‘जम्बो’ ६२ सदस्यीय भएको छ । कांग्रेससँगको सत्ता साझेदारी तोड्दै माओवादी केन्द्रले प्रमुख विपक्षी दल नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि प्रधानमन्त्री देउवा माओवादीका तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्री निश्कासनको तयारीमा छन् ।

आज नियुक्त भएका मन्त्रीलाई माओवादीले सम्हालेका मन्त्रालय दिने बताइएको छ । राप्रपाले दुई दिनअघि मात्रै निर्वाचनको सुनिश्चितताका लागि भन्दै सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।