८ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएको एक साताभित्र राजपालगायत मधेसी मोर्चाको माग पूरा गराइछाड्ने प्रतिबद्धता जनाए पनि वाचा पूरा गर्न नसकेको स्विकार्दै फेरि अर्को सहमतिको प्रयासमा जुट्नुभएको छ ।

राजपा नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र नेता अनिल झासँग बुधबार देउवाले भेटवार्ता गर्दै प्रधानमन्त्री बनाउन र चयनका समयमा राजपाले खेलेको निर्णायक भूमिकाको गुन तिरेरै छाड्ने प्रतिबद्धता गर्नुभएको छ । एक साता तराई बसेर राजधानी फर्किएका नेताद्वय ठाकुर र झासँग देउवाले राजनीतिक सहमति, सहकार्य र एकताको प्रस्ताव गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा नेताबीच देशलाई निकास दिन आवश्यक पहलकदमीबारे छलफल भएको जानकारी राजपाका अध्यक्ष मण्डलका नेता झाले दिनुभयो । उहाँले भन्नुभयो, ‘सहमतिका लागि गम्भीर रूपमा प्रस्तुत हुनुभएको प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै राजपाका सबै माग पूरा गराइछाड्ने पुनः प्रतिबद्धता जनाउनुभयो ।’

देउवाले आफू प्रधानमन्त्री हुने बेलामा गरेको सम्झौता नबिर्सिएको र कार्यान्वयन गराएरै छाड्ने, प्रमुख प्रतिपक्षी दललगायत विपक्षीसँगको वार्ता अघि बढाउने वचन दिनुभएको थियो । देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ठाकुरजी मलाई केही समय दिनुहोस्, तपाईंहरूको माग पूरा गर्न म गम्भीर छु, मन्त्रिपरिषद्बाट राजनीतिक माग पूरा गर्छु ।’

प्रधानमन्त्री देउवाले प्रदेश नम्बर दुईमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप्न पनि आफू प्रतिबद्ध रहेको र सोअनुसार आवश्यक गृहकार्य भइरहेको बताउनुभएको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।