३ मंसिर, डडेल्धुरा । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले देश अहिले गम्भीर मोडमा उभिएकाले देशलाई कम्युनिष्टहरुको त्रासबाट बचाउन लोकतन्त्रको पक्षमा जनमत अझ बढ्ने बताएका छन ।

सुदूरपश्चिमको भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले आईतबार गृह जिल्लाको आलितालामा आयोजित चुनावी सभामा बोल्दै सो कुरा बताएका हुन । पूर्वको ताप्लेजुङ्बाट चुनावी अभियान थाल्नुभएका प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका अधिकांश जिल्लाको चुनावी प्रचारको क्रममा लोकतन्त्रको पक्षमा जनता उर्लिएर आएको बताए ।

उनले झण्डै ७० बर्षको संघर्षले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र सहितको वर्तमान संसदीय व्यवस्थालाई कम्युनिष्टहरुबाट जोगाउन जनता आफै अग्रसर भएको पनि बताए । उनले यो चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउने दावी पनि गरे ।

उनले केही परिबर्तन बिरोधी समूहहरुको निर्वाचन हुन नदिन जनताका प्रतिनिधिमाथि छानी छानी आक्रमण गरिरहेकोमा आपत्ति जनाउदै उम्मेदवारमाथिको अराजक हमला तत्काल बन्द गर्न चेतावनी दिएका छन ।

आलितालमा आयोजित आम सभामा प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा माओबादी केन्द्रका पोलिट ब्यूरो सदस्य तथा प्रस्ताबित समानुपातिक तर्फका उम्मेदवार जगत पार्की , नेकपा माओबादी केन्द्रका पूर्व जिल्ला ईन्चार्ज जनक कलौनी सहित ७ सय ७६ जना नेता कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन ।