३१ बैशाख, दोलखा ।

दोलखामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरी निरिक्षक बिनोद सुनारले चलाएको गोलि लागेर मेलुङ गाउँपालिका १ का चन्द्रबहादुर भुलेका छोरा ३५ वर्षिय नहकुल भुजेलको मृत्यु भएको हो ।

कांग्रेस र एमाले कार्यकर्ताहरु भोट हालिसकेर पनि घर नगएपछि प्रहरीले घर जान आग्रह गरेको थियो । तर उनीहरु घर नगई सामान्य विवादले उग्र रुप लिएपछि गोलि चलाउनु परेको प्रहरीले जनाएको छ ।

अहिले त्यहाँको अवस्था तनावपूर्ण भएको छ भने मतदान कार्यक्रम पनि रोकिएको छ । सबै दलका कार्यकर्ताले अहिले प्रहरी विरुद्ध नारावाजी गरिरहेका त्यहाँबाट पत्रकार दीपशंकर चौलागाँईले जनाएका छन् । उनका अनुसार मत खसेर सकिने अवस्थामा थियो ।

अवस्थालाई नियन्त्रणमा लिन सदरमुकार चरिकोटबाट हेलिकोप्टरमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यहाँका स्थानीयका अनुसार प्रहरी निरिक्षक सुनार र कांग्रेसका पूर्वसभापति ताराबहादुर कोइरालाको रिसइविका कारण घटना घटेको हो ।