२७ असार, काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ ।

गएराति धरान उपमहानगरको मतपरिणाम सार्वजनिक भएसँगै सबै ठाउँमा मतगणना सकिएको हो । धरानको प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेका उमेद्बार बिजयी भएका छन् ।

पहिलो चरणमा १ सय २५ र अहिले १ सय ५१ गरी २ सय ७६ स्थान जितेको नेकपा एमाले ठूलो दल बनेको छ । पहिले १ सय ४ र अहिले १ सय २२ स्थान गरी कूल २ सय २६ स्थान जितेको नेपाली काँग्रेस दोस्रो र पहिलो चरणमा ४६ र अहिले ३८ गरी कूल ८४ स्थान जितेको नेकपा माओवादी केन्द्र तेस्रो भएका छन् ।

संघीय समाजवादी फोरम नेपालले समग्रमा ८, नेपाल लोकतान्त्रिक फोरमले ६, राप्रपाले ५, राष्ट्रिय जनमोर्चाले ३, नेपाल मजदूर किसान पार्टीले १, नयाँ शक्ति पार्टीले १ तथा स्वतन्त्रले ६ स्थानमा जित हात पारेका छन् । गएको असार १४ गते दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा चुनाव भएको थियो ।

यसअघि पहिलो चरणमा निर्वाचन भएका २ सय ८३ मध्ये २ सय ८२ स्थानको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । भरतपुर महानगरपालिकाको मतगणना विवाद भने अझै सुल्झिएको छैन । निर्वाचन आयोगले मतपत्र च्यातिएको भरतपुर–१९ मा पुनः मतदान गराउने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सर्वोच्चले यस विषयको सुनुवाइ पटक पटक सार्दा अन्यौल बढेको छ ।