महाभारत काव्यमा कुल १८ वटा पर्वहरू (भाग) छन्, जसमध्ये ‘वन पर्व’ तेश्रो पर्व हो र यो महाभारत काव्यकै सबैभन्दा लामो पर्व हो। यस पर्वमा पाण्डवहरूले १२ वर्षको वनबासको बारेमा वर्णन गरिएको छ भने त्यहाँ उनीहरूले के-कस्ता पाठ सिके भनेर पनि बयान गरिएको छ।
वन पर्व
मामा शकुनी र कौरवतर्फका दाई दुर्योधनको जालझेलबाट पाण्डुका पाँच पुत्र पाण्डवहरूले जुवामा सबै कुरा हारेपछि उनीहरूलाई इन्द्रप्रस्था राज्यबाट १२ वर्षको लागि वनबास सजाय मिल्यो। पाण्डवहरूको नाम, जेठोबाट कान्छोसम्म क्रमैसँग: युधिष्ठीर, भीम, अर्जुन, नकुल र सहदेव हो।
यो पर्वमा द्रौपदीलाई २ वटा नामले पुकारिएको छ, कृष्णा (अर्थ- काली) र यज्ञसेनी। उनलाई कुनै दोष नभएकी, ठूल्ठूला नयन र सुन्दर दाँत भएकी अनि चम्किलो द्रव्य र वस्त्र लगाएकी नारीको रूपमा वर्णन गरिएको छ।
पृष्ठभूमी
इन्द्रप्रस्थाबाट निर्वासनमा निस्किएका पाण्डवहरू सुरुमा ‘काम्यक’ वनमा पुगे र केहि दिनको आरामपश्चात द्रौपदीलाई कुटिमा एक्लै छाडि पाँचै भाई उनीहरूसँग आएका ब्राह्मणहरूका लागि भोजनको बन्दोबस्त गर्न जङ्गल चहार्न निस्किए।
संयोगवश सोहि दिन सिन्धुका राजा वृद्धक्षेत्रका पुत्र ‘जयद्रथ’ पनि आफ्ना राजकुमार र सेनाहरूसँग विवाहको लागि सल्वाराज्य गैरहेका थिए। सबै सेनाहरू पनि थाकिसकेका थिए र राजा जयद्रथले त्यहिँ काम्यक वनमा आराम गर्ने निर्णय गरे। आराम गरिरहँदा जयद्रथले पर कुटिमा बसिरहेकी कृष्णालाई देखे र उसको सुन्दर रूपदेखि मोहित हुन पुगे। त्यसपछि जयद्रथले आफ्ना एक राजकुमार ‘कोतिका’लाई पर बसिरहेकी त्यस सुन्दर नारीको बारेमा सोधपुछ गरी नाम, ठेगाना सबै कुरा पत्ता लगाएर आउन आदेश दिए।
कोतिकाले पनि राजाको आदेश मानी कृष्णा भएको ठाउँमा पुगे। कोतिका त्यहाँ पुग्दा कृष्णा कदम्बा रूखको हाँगामा अडेस लगाएर बसिरहेकी थिइन्। कृष्णासँग एकदमै सम्मानजनक ढङ्गले बातचित गरी कोतिकाले उनको बारेमा सबै कुरा पत्ता लगाएर राजा जयद्रथलाई सुनाए। जयद्रथले पनि हिम्मत गरी कृष्णा बसिरहेको कुटिभित्र छिरेर उनलाई रानी बनाउने प्रस्ताव राखे।
जयद्रथको यस्तो अवाञ्छित र अपमानजनक वचन सुनी, कृष्णा क्रोधले अझै बढि काली भइन्। क्रोधको आगोमा कृष्णाले जयद्रथको प्रस्तावलाई अस्वीकार मात्र गरिनन्, उसलाई मस्तले गाली गरी मूर्खको संज्ञा दिइन्।
जयद्रथले पनि कृष्णाको माथिको वस्त्र समातेर तान्न खोजे तर कृष्णाले उनलाई धकालेपछि जयद्रथ भुइँमा लडे। शक्तिको घमण्डले भरिएका जयद्रथले कृष्णाको बाहुलामा समातेर घिसार्दै आफ्नो रथमा राखे र आफ्ना सेनाहरूसँग त्यहाँबाट भागे।
यस घटनाको केहि क्षणमै पाँच पाण्डवहरू कुटिमा फर्किए र कृष्णाको नोकर्नीबाट सबै कुरा सुनेपछि कृष्णालाई बचाउन पाँचै भाई निस्किए। जयद्रथको रथ त्यति टाढा पुगेको थिएन, त्यसैले पाण्डवहरूले चाँडै नै भेट्टाउन आइपुगे र रथ रोक्न लगाए।
पाण्डुका पाँच बहादुर पुत्रहरूलाई देखेपचि जयद्रथले अझ बढि उत्साहित भए र द्रौपदीलाई यसो भने- “हे कृष्णा! ती पाँच बहादुर योद्धाहरू, सायद तिम्रा पतिहरू हुन्। तिमीलाई त पाण्डुपुत्रहरूको बारेमा सबै कुराहरू थाहा होला, त्यसैले उनीहरूको बारेमा एक-एक गरेर सबै बेलिबिस्तार लगाऊ।”
जब कृष्णाले आफ्ना पाँच साहसी पतिहरू आफूलाई बचाउन आएको देखिन्, तब उनको सबै भय हराएर गयो र आत्मविश्वास बढ्न थाल्यो। त्यसपछि उनले आफ्ना पाँच पतिहरूको बारेमा यसरी बयान गर्न थालिन्।
पाण्डवहरूको वर्णन
युधिष्ठीर
कृष्णाले आफ्नो पति ‘युधिष्ठीर’लाई धर्मपुत्र भनेर बयान गरिन्- “यस्तो राजा जसलाई आफ्नो कर्मको नैतिकताको बारेमा सम्पूर्ण ज्ञान छ, यस्तो राजा जो आफ्नो काममा सँधै सफल हुन्छन्। जसको मुहारको रूप सुनौलो छ, इज्जत सर्वव्यापी छ अनि विशाल आँखा र सुसंगठीत शरीर छ, हो ऊ मेरो पति हो! जो भाला चलाउन खप्पिस छ अनि जो कुरुका राजकुमार हुन्। सदगुणले भरिएका उसले आफ्नै दुश्मनलाई पनि जीवनदान दिन्छन्। कहिल्यै झुठ नबोल्ने मेरा पति युधिष्ठीरको दाँजोमा जस्तो सुकै महापुरुष पनि अँध्यारोमा पर्छन्”
कृष्णाले जयद्रथलाई भनिन्- “हे महामूर्ख! आफ्नो हतियार त्यागिदेऊ, हात जोड र उसको अगाडि गएर शरण माग, तिम्रो कल्याण हुनेछ।”
भीम
‘लामो हात र सालको रुखजस्तै कद भएको जुन पुरुषलाई तिमी देखिरहेछौ, ऊ पनि मेरो पति ‘विक्रोधर’ हो। अस्त्रमा गदाको ज्ञाता उसको शक्ति भयङ्करको छ, तसर्थ पृथ्वीबासीले उनलाई ‘भीम’ भनेर पनि पुकार्छन्। ऊ रिसाएको बेला जहिले पनि आफ्नो ओँठ टोक्छन् र दुई आँखिभौँलाई खुम्च्याउँछन्। उसको रथलाई राम्ररी प्रशिक्षण दिइएको बलियो र उत्कृष्ट नश्लका घोडाले तान्छन्। जसले उसको अपमान गर्छ, त्यसले मृत्युको बाटो लाग्नुपर्छ। भीम आफ्नो दुश्मनलाई दया गर्दैनन्।’
अर्जुन
‘धनुषधारी, सुन्दर कद र रूप भएको जो पुरुष तिमीले देखिरहेका छौ, ऊ पनि मेरो पति ‘धनञ्जय’ हो। बुद्धिले प्रसिद्ध उसका सबै भावनाहरू उसकै नियन्त्रणमा छन्। ऊ वृद्धलाई श्रद्धा गर्छन्। जस्तोसुकै कामुक, भय र क्रोधको बेलामा पनि उसले आफ्नो सदगुण र नैतिकतालाई त्याग्दैनन्, कहिल्यै पनि क्रूर कार्य गर्दैनन्। अग्नीको शक्ति भएको मेरो पति जस्तोसुकै दुश्मनसँग पनि डराउँदैनन्। कुन्तिपुत्र अर्जुन ‘दुश्मनहरूका संहारकर्ता’ हुन्।’
नकुल
‘त्यो अर्को सुन्दर युवक पनि मेरो पति ‘नकुल’ हो, जो हरेक पक्षमा कौशल छ। नैतिकता र ज्ञानको हरेक पक्षबाट परिचित नकुलले डराएकाहरूबाट डर हटाउन सक्छन्। उच्च कोटिको ज्ञान वरदान स्वरूप पाएका नकुल संसारकै सबैभन्दा सुन्दर युवक हुन्। आफ्ना सबै दाईलाई समान भक्ति गर्ने भएकै कारण उनी सबैको प्राणभन्दा प्यारा छन् र सबैले उनलाई सँधै रक्षा गरिरहन्छन्। उनको हातको चाल यस्तो हलुङ्गो छ कि उसले तरवार चलाउँदा कसैको आँखाले पनि भ्याउन सक्दैन।’
सहदेव
‘चारै पाण्डवको सबैभन्दा प्यारो अनि कान्छो भाई ‘सहदेव’ मेरा पति हुन्। शस्त्र अस्त्र लगायत बुद्धि र विवेकको सम्पूर्ण ज्ञान भएका उनी धर्मपुत्र हुन् र धर्मको विरुद्धमा कहिल्यै केहि काम गर्दैनन्। उनको वीरता र बुद्धिलाई टक्कर दिने यो संसारमा कोहि पनि छैनन्। कुन्ती आफ्नो कान्छापुत्रलाई प्राणभन्दा पनि प्यारो ठान्छन्। क्षेत्रीय धर्मलाई सँधै पछ्याएर हिँड्ने सहदेव आफ्नो धर्म र नैतिकताको लागि आगोमा कुद्न पनि तयार हुन्छन्।’
यसरी कृष्णाले दुष्ट राजा जयद्रथलाई आफ्ना पाँचै पाण्डव पतिहरूको बारेमा वर्णन गरेकी थिइन्।