२३ जेठ, धनगढी।

एक महीनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ ।

गत वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र विस्तारको काम भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले बताए। उनका अनुसार विमानस्थलमा पहिलेको भन्दा बढी दलदले माटो निस्किएकाले काम लम्बिएको हो । तीन मात्रै ठूला जहाज पार्किङ गर्न मिल्ने विमानस्थलको स्तरोन्नतिपछि चार ठूलै जहाज पार्किङ गर्न सकिने जनाइएको छ ।

मौसमले साथ दिएमा अबका पाँच दिनमा विमानस्थलमा हवाई उडान सञ्चालन हुने गरी काम भइरहेको निर्माण कम्पनी लुम्बिनी, कोषी, न्यौपाने र खड्का, कृष्ण जेभीका इञ्जिनीयर सचिन थापाले बताए। उनले वर्षा भएमा विमानस्थल मर्मत तथा स्तरोन्नति कार्य लम्बिने जानकारी दिए। काठमाडौँ–धनगढी–काठमाडौँ दैनिक पाँच हवाई उडान हुने गरेका थिए ।