६ असोज, धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजय भएका छन् । दुवै पदमा काँग्रेसले दुई हजारभन्दा बढी मतको फराकिलो अन्तरले जित हासिल गरेको छ ।

प्रमुखमा योगेन्द्र पञ्जियारले पाँच हजार ५९९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरमका सुखदेव यादवले तीन हजार १०५ मत प्राप्त गरेका छन । उपप्रमुख पदमा नेपाली काँग्रेसका रचना माथेमा विजय भएका छन ।

उपप्रमुख पदमा रचना माथेमाले पाँच हजार ७०१ मत प्राप्त गरी विजयी भएका छन भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का यशोदा यादवले तीन हजार २८९ मत प्राप्त गरेका छन ।

क्षिरेश्वरनाथ नपाको वडा नं १, ३, ४, ५, ६, ८ र ९ मा काँग्रेसको प्यानल, वडा नं २ मा एमालेको प्यानल र वडा नं ७ मा अध्यक्षसहित चार पदमा एमाले र एक सदस्य काँग्रेस विजयी भएको छ भने वडा नं १० मा स्वतन्त्रको पंखा छापबाट राम पदारथ यादव वडाध्यक्षमा विजयी भएका छन ।

धनुषाका १८ स्थानीय तहमध्ये सात तहको परिणाम सार्वजनिक हुँदा काँग्रेस चार तहमा विजयी भएको छ ।