महाभारतमा शिकारी जाराको हातबाट श्रीकृष्णको मृत्यु भएपछि पाण्डवहरूलाई यो सांसारिक मोहबाट विरक्त लाग्न थालिसकेको थियो। कुनै कुराप्रति पनि उनीहरूको मन लाग्न सकेको थिएन। त्यसैले उनीहरूले अभिमन्यूका पुत्र परिक्षितलाई हस्तिनापूरको राजा बनाई तीर्थयात्राको लागि निस्किए। उनीहरू हिमालयपर्वत तर्फ लम्किँदै थिए र बीचबाटोमा एउटा कुकुरले पनि उनीहरूको साथ दियो।
पाण्डवहरूको तीर्थयात्रा
तीर्थयात्राको क्रममा सबैभन्दा पहिला द्रौपदीको मृत्यु भयो। त्यसपछि नकुल र शहदेवले पनि प्राण त्याग गरे। सर्वश्रेष्ठ धनुरधर ‘अर्जुन’ले पनि बीच बाटोमा नै मृतलोक त्यागे। अब बाँकी केवल ३ जना थिए- भीम, युधिष्ठीर र कुकुर।
दश हात्तीको बल भएका र सर्वश्रेष्ठ गधाधर भनेर चिनिने भीमले पनि सास फेर्न बिर्सिएपछि तीर्थयात्रामा युधिष्ठीर र कुकुरमात्रै बाँकी हुन पुग्यो। महाभारतमा उल्लेख गरिएअनुसार, पाण्डवहरूमध्येमा युधिष्ठीर मात्रै बाँच्नुको कारण के थियो भन्दा, उनी सबै भाईहरूभन्दा धर्मती थिए। उनले आफ्नो जीवनभरी कुनै पनि काम अधर्मको पक्षमा गरेका थिएनन्।
स्वर्गको ढोकामा
हिमालयपार गरेपछि युधिष्ठीर र कुकुर दुवैजना स्वर्गद्वारमा पुगे। स्वर्गका द्वारपालेले युधिष्ठीरलाई एक्लै भित्र छिर्न आग्रह गरेपछि, धर्मराज युधिष्ठीरले भने कि सम्पूर्ण यात्रामा उनलाई साथ दिने केवल कुकुरमात्रै थियो, त्यसैले स्वर्गको द्वारभित्र पनि कुकुरसँगै जानेछन्।
युधिष्ठीरको यस्तो वाणी सुनेर, यमराजले कुकुरको रूपबाट आफ्नो वास्तविक रूप लिए र युधिष्ठीरलाई आफ्नो दर्शन दिए।
स्वर्गमा पाण्डवहरू पुगेनन्, कौरवहरू पुगे
भित्र छिर्ने बित्तीकै युधिष्ठीरले स्वर्गमा केवल कौरवहरूलाई मात्रै देखेपछि भने उनको क्रोध बढ्न थाल्यो। उनले यस्ता अधर्मीहरूलाई स्वर्गजस्तो पवित्र ठाउँमा कसरी बास मिल्यो भन्ने कुरा बुझ्न सकेनन्। उनको क्रोध पनि स्वाभाविक नै थियो, किनभने दुर्योधनकै कारण पाण्डवहरूले आफ्नो जीवनभर दुःख भोग्नुपरेको थियो। उनीहरूकै कारण पाण्डवहरूले कैयौँ असल मानिस अनि आफ्नै आफन्तहरूको हत्या गर्नुपरेको थियो।
त्यसपछि युधिष्ठीरले आफ्ना चार भाई, द्रौपदी र कर्णलाई किन त्यहाँ देखेनन् भनेर यमराजसँग सोधेपछि यमराले उनलाई ती सबैजना भएको ठाउँमा लगे।
पाण्डवहरू नर्कमा
आश्चर्यको कुरा के थियो भन्दा, युधिष्ठीरका चारै भाई, द्रौपदीलगायत कर्ण पनि नर्कमा बसिरहेका थिए। त्यसपछि यमराजले युधिष्ठीरलाई सम्झाए कि, उनीहरूले आफ्नो जीवनभर गरेको पाप र अधर्मको कारण ने उनीहरूलाई नर्कमा राखिएको हो। कर्णले सारा राज्यसभाको सामुन्ने द्रौपदीको अपमान गरेका थिए, भीम र अर्जुन दुवै मिलेर छलकपटबाट दुर्योधन र कर्णको हत्या गरेका थिए भने नकुल र सहदेवले उनीहरूलाई मद्दत गरेका थिए।
यस्तो कुरा सुनेर रिसाउँदै युधिष्ठीरले यमराजसँग कौरवहरूको पापको बारेमा सोधे। आफ्नो जीवनभरी क्षेत्रीय धर्मको पालना गर्ने मानिसहरू नर्कमा छन् भने जिन्दगीभरी पाप गरेका अधर्मीहरू किन स्वर्गमा बसिराखेका छन्?
यमराजले भने कि हाल कौरवहरू स्वर्गमा छन्, किनभने उनीहरूले अन्तिम क्षणमा क्षेत्रीय धर्मको पालना गर्दै आफ्नो राज्य र जन्मथलोको लागि युद्ध गरेका थिए। त्यसो भए, कर्णलाई किन उनीहरूसँग राखिएन भन्ने प्रश्नमा यमराजले भने कि कर्णले आफ्नो जन्मथलोको लागि युद्ध गरेका थिएनन्, उनले त केवल आफ्ना मित्रको साथ दिएका थिए, यो थाहा हुँदाहुँदै कि उनले अधर्मको पक्ष लिइराखेका छन्।
मानिसहरू स्वर्ग र नर्क दुवै जानुपर्छ
युधिष्ठीरको क्रोध र निराशता देखेर यमराजले भने- “हे धर्मराज! मानिसहरूमा दुवै धर्म र अधर्मले बास गरेको हुन्छ। जुन व्यक्तिले आफ्नो धर्मको फल सुरुमा चाख्छ, उसले अन्तिममा अधर्मको फल चाख्नुपर्ने हुन्छ, जुन मीठो हुँदैन। तर जुन व्यक्तिले सुरुमा अधर्मको फल चाख्न पाउँछ, उसले अन्तिममा धर्मको फल चाख्न पाउनेछ। हे कुन्तिपुत्र, जसको पाप धेरै छ, उसले सुरुमा स्वर्गको दर्शन पाउनेछ र पछि नर्कमा जल्नेछ। त्यसैले नै हे हस्तिनापुरनरेश, मैले तिमीलाई सुरुमा नर्कको दृश्य देखाएको हुँ!” कुरुक्षेत्र युद्धमा युधिष्ठीरले द्रोणलाई झुक्याएका हुनाले नै उनले सुरुमा नर्क पस्नुपरेको यमराजले बताएपछि भने बल्ल युधिष्ठीरको क्रोध शान्त हुन थाल्यो।