७ मंसिर, काठमाडौं । धार्मिक गुरुको नाममा महिलाहरुलाई यौन शोषण गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

रिम्पोछे छुल्ठिम दोर्जे योन्जन टुल्कु लामालाई विशेष सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले पक्राउ गरेको हो ।

उनले आफूले जुनसुकै रोग निको पार्ने भनी महिलाहरुलाई डर त्रास र धम्की दिई यौन शोषण गर्दै आएको प्रहरीलेजनाएको छ । उनलाई काठमाडौंको दक्षिणकाली नगरपालिका १ चाल्नाखेल वोशनस्थित पेमा टासी छुल्टिम घोम्बो कासुङबाट पक्राउ गरिएको हो ।

उनलाई काठमाडौं जिल्ला अदालतबाट जवर्जस्ती करणी तथा विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

उनी १० बर्षदेखि सो गुम्बा संचालन गरी बसेको र सो गुम्बामा महिलाहरुको संख्या धेरै रहेको पाइएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

उपचार गराउन आएका महिलाहरुलाई उपचारको क्रममा एक्लो कोठामा निर्वस्त्र गराई जवरजस्ती शारिरीक सम्बन्ध राखेकोर पीडित महिलाहरुलाई सो कुरा कसैलाई भनेमा ठूलो क्षति हुन्छ, पुनः रोग बल्झिन्छ, रोगको उपचारको निम्ति आफैंसँग योन सम्पर्क राख्नुपर्छ भनि दबाब दिने गरेको प्रहरीको अनुसन्धानबाट पक्ता लागेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।