२० चैत, बिर्तामोड । वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ । उनीहरुको अभियानलाई सघाउन रकम सङ्कलन समेत थालिएको छ ।

झापा गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याती प्राप्त गर्नुका साथै भूकम्पपीडितको घर निर्माण अभियानमा योगदान गरेबापत धुर्मुस– सुन्तलीलाई सम्मान गर्न लागिएको हो । अगामी वैशाख ३ गते विर्तामोडमा विशेष कार्यक्रमकाबीच दुवैजनालाई नागरिक सम्मानका साथै नगद रु १० लाख प्रदान गर्न लागिएको समारोह समितिका संयोजक विनोद बस्नेतले जानकारी दिए ।

वीरता जेसीजको अगुवाइमा बर्सेनि एक झापाली नागरिकलाई उत्कृष्ट घोषित गर्दै सम्मान गर्दै आएको सो संस्थाका अध्यक्ष सञ्जु भारतीले बताए । सन् १९८१ मा स्थापित वीरता जेसीजले २०५२ सालबाट उत्कृष्ट नागरिक सम्मानको परम्परा सुरु गरेको हो ।

“समाज परिवर्तनका लागि विशेष योगदान पु-याउने व्यक्तिको छनोट गरी सम्मान गर्दै आएका छौँ,”वीरता जेसीजका अध्यक्ष भारतीले भने । रासस