blood२४ असार, काठमाडौ । आफ्नो रगत कुन समूहको छ ? तपाईँलाई जानकारी छ ? छैन् भने आफ्नो रगतको समूह स्वास्थ्य प्रयोगशालामा गई वर्गीकरण गरिहाल्नुस् ।

जनमानिसलाई आफ्नो रगतको समूहका बारेमा जानकारी नहुँदा र रक्तदान गरेमा स्वास्थ्यमा कुनै असर पुग्दैन भन्ने चेतना नहुँदा खासगरी अहिले नेगेटिभ रगत समूहको खाँचो दिनप्रतिदिन बढिरहेको छ । नेगेटिभ रगत समूहका नयाँ रगतदाताको सङ्ख्या नबढिरहेकाले अहिले केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रलाई नेगेटिभ रगत समूहका रगत बिरामीले चाहेको समयमा उपलब्ध गराउन धौ धौ परिरहेको छ । बिरामीलाई सो समूहको रगत उपलब्ध गराउन महत्वपूर्ण सहयोग गरिरहेको फ्रेन्ड्स अफ आर एच नेगेटिभ समूहका अध्यक्ष जीवन बस्नेतले भन्नुभयो “नयाँ नेगेटिभ रक्तदाता नथपिँदा नेगेटिभ रगत भनिएको समयमा उपलब्ध गराउन समस्या परिरहेको छ ।”

विश्व स्वास्थ्य सङ्गठनले कुल जनसङ्ख्याको दुई प्रतिशत मात्र नेगेटिभ रगत समूह रहेको र बाँकी ९८ प्रतिशत पोजेटिभ रगत समूहमा रहेको जनाएको छ । अर्कातर्फ नेगेटिभ रक्तदाताको नामावली सङ्कलन तथा अद्यावधिक गरी केन्द्रमा सो समूहको रगत उपलब्ध नभएका समयमा उनीहरुमार्फत नै बिरामीले भनेको समयमा रगत उपलब्ध गराउन फ्रेन्ड्स अफ आर एच नेगेटिभ समूहले सहयोग पुर्याइरहेको छ । समूहले सङ्कलन गरेको नामावलीमा नेगेटिभ समूहका रक्तदाताको नामावली एक हजार ५ सय नाघ्न सकिरहेको छैन् ।

समूहका अनुसार ‘ए’ नेगेटिभ समूहमा तीन सय पचास, ‘बी’ नेगेटिभ समूहमा तीन सय, ‘ओ’ नेगेटिभमा तीन सय साठी र ‘एबी’ नेगेटिभमा तीन सय उन्नाइस जनाको नामवली सङ्कलन भएको छ । केन्द्रमा नेगेटिभ समूहको रगत अभाव भएपछि तिनै रक्तदातालाई फोनमार्फत आह्वान गरी बिरामीलाई उपलब्ध गराइने व्यवस्थाले काम चलिरहेको छ ।

अहिले दैनिक चार सय पिन्टसम्म रगत केन्द्रबाट वितरण भैरहेको छ । तीमध्ये करिब ९६ प्रतिशत पोजेटिभ समूह र बाँकी नेगेटिभ समूहका हुनेगरेको केन्द्रका वरिष्ठ प्राविधिक राम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अब नेगेटिभ रक्तदाताको खोजी गरी उहाँहरुलाई रक्तदानमा उत्प्रेरणा नजगाउने हो भने थप समस्या पर्न सक्छ । ”

अर्कातर्फ काठमाडौँ उपत्यका बाहिर चितवन, विराटनगर, पोखरा, धरान, नेपालगन्जलगायत प्रमुख सहरबाट पनि नेगेटिभ रगत समूहको माग केन्द्रमा आउने गरिरहेको छ । “जति पनि रगतका माग उपत्यका बाहिरबाट आउँछन् तीमध्ये आधिकांश नेगेटिभ समूहका नै हुने गर्छन् ” प्राविधिक श्रेष्ठले भन्नुभयो ।

नेगेटिभ रगत भनेकै समयमै उपलब्ध नहुँदा मुटु, क्यान्सर, मिर्गाला जस्ता जटिल रोगबाट पीडित हुनेहरुको जटिल शल्यक्रिया नै पटक पटक सरकारी तथा निजी अस्पतालले स्थगन गर्दै आइरहेका छन् ।“ हामी यस्तो अवस्थालाई अन्त्य गर्न चाहन्छाँै, यसका लागि रक्तदान गर्न योग्यहरुले रगतको समूह छुट्टयाई रगतदान गरी जीवन दान गर्न सक्छन् ” समूहका अध्यक्ष बस्नेतले भन्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको अध्ययनअनुसार कुल जनसङ्ख्याको दुई प्रतिशतले मात्र रक्तदान गर्ने हो भने जुनसुकै रगतको पनि माग पुरा हुने गर्छ । केन्द्रको तथ्याङ्कअनुसार गत वर्ष एक लाख ८० हजार पिन्ट रगतको खपत भएको थियो । विसं २०४८ चैत २४ देखि नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरिरहेको सो केन्द्रले रगतको सङ्कलन, परीक्षण तथा वितरण गरिरहेको छ ।

यसैबीच कसरी नेगेटिभ रक्तदाताको खोजी तथा उहाँहरुलाई रक्तदानमा उत्प्रेरण जगाउने भन्ने उद्देश्यले केन्द्र र समूहद्वारा संयुक्त रुपमा आज यहाँ उत्प्रेरणा कार्यक्रम आयोजना गरियो । कार्यक्रमका सहभागीले रगतको माग बढिरहेको, यसमा पनि नेगेटिभ समूहको रगत पाउन अझ कठिन भएकाले जनसमुदायलाई रक्तदानमा गर्न र आफ्नो रगतको समूहबारे जानकारी राख्न व्यापक जनचेतनाको कार्यक्रम सञ्चालन गर्न जोड दिएका थिए ।

कार्यक्रममा ब्लड डोनर्स एसोसिएसनका संस्थापक अध्यक्ष शरद कसाःले युवा वर्गलाई रक्तदानप्रति उत्प्रेरणा जगाउन आवश्यक रहेको धारणा राखेका थिए । एसोसिएसनका उपाध्यक्ष रमेशध्वज बस्नेतले एसोसिएसनले ‘रक्तदान जीवनदान’ भन्ने मूल भावनाका साथ रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको संयोजन गर्दैआइरहेको बताए । रासस