८ साउन, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुढीगण्डकी आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीलाई दिने पूर्ववर्ती सरकारले गरेको निर्णय गलत भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

एमालेले राष्ट्रिय गौरवको योजनामा विदेशी कम्पनीलाई निर्माणको जिम्मा दिनु उचित नहुने भन्दै सरकारले निर्णय सच्याउनुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।

व्यवस्थापिका संसदको आजको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र पाण्डेले सरकारले अपारदर्शी ढंगले बूढीगण्डकी आयोजना निर्माण चिनियाँ कम्पनीलाई दिनुमा सरकारको गलत नियत रहेको बताए ।

उनले १२ सय मेगावाट जलाशययुक्त जलविद्युत आयोजनामा सरकारले विदेशी कम्पनीलाई ठेक्का दिएर आर्थिक हिनामिना गर्न खोजेको समेत आरोप लगाए । पाण्डेले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई काम गर्न सरकारले पूर्वाधार तयार नगरेको भन्दै आपत्ती जनाए ।

बैठकमा काँग्रेसका बलबहादुर केसीले स्थानीय तहको दोस्रो तहको निर्वाचनमा उम्मेदवारी दिने क्रममा सोलुखुम्बु, नेचा–सल्यान गाउँपालिका– ६ मा आफू र काँग्रेसका वडाध्यक्षका उम्मेदवार टङ्कबहादुर कार्कीमाथि आक्रमण गर्नेमाथि हालसम्म कारबाही नगरिएको गुनासो गरे ।