५  जेठ, मेलम्ची ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको प्रमुख पदमा निर्वाचित डम्बर अर्यालले २० दिनभित्र जनताले राहत महसुस गर्नसक्ने योजना सार्वजनिक गर्ने बताएका छन् ।

बिहीबार नेकपा (एमाले)ले निकालेको विजय जुलुसपछि मेलम्ची नगरपालिकाको नगरपालिका जाने चौकमा भएको कोणसभामा सम्बोधन गर्दै अर्यालले २० दिनभित्र जनताले राहत महसुस गर्न सक्ने योजना सार्वजनिक गर्ने बताए ।

कार्यक्रममा एमाले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं ३ का सांसद शेरबहादुर तामाङले मेलम्ची क्षेत्रमा फ्री वाइफाइको व्यवस्था चाँडै नै गरिने प्रतिबद्धता व्यक्त गरे।

मेलम्चीको प्रमुखमा एमालेका डम्बर अर्याल आठ हजार ६७८ मतका साथ विजयी भएका हुन । निकटतम प्रतिद्वन्द्वी काँग्रेसका आइतमान तामाङले सात हजार ३३ मत प्राप्त गरेका थिए । उपप्रमुखमा पनि एमालेकै भगवती नेपाल नौ हजार ११७ मत प्राप्त गरी विजयी भएका छन् ।

बाह्रबिसेमा प्रमुख र उपप्रमुखमा एमाले

यस्तै, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । बिहीबार अपराह्न सम्पन्न मतगणनामा एमालेका निमफुन्जो शेर्पाले काँग्रेसका बालकृष्ण बस्नेतलाई जम्मा २०० मतले पछि पार्दै जित हात पारेका हुन । चार हजार ९२९ मत प्राप्त गरेर शेर्पा विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी बस्नेतले चार हजार ७०९ मत ल्याउँदै पराजय बेहोरेका हुन ।

बाह्रबिसेको उपप्रमुखमा पनि एमालेकै सुशीला पाख्रिन विजयी भएका छन् । उनले पाँच हजार १५ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी लीला नेपालले चार हजार ८१३ मत प्राप्त गरे । त्यस्तै, जिल्लाको सदरमुकाम चौतारामा माओवादी केन्द्रबाट नगरपालिका प्रमुखमा अमानसिंह तामाङ र उपप्रमुखमा माओवादी केन्द्रका जानुका पराजुली विजयी भएका छन् । रासस