१७ वैशाख, नवलपरासी ।

नवलपरासीमा हाल कायम १५ वटा स्थानीय तहमध्ये पहिलो चरणमा आठवटा स्थानीय तहमा मात्र निर्वाचन हुने भएका छन् । बाँकी सात स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुनेछ ।

सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने तयारी गरिरहँदा नवलपरासीमा हाल कायम भएका स्थानीय तहमध्ये पहिलो चरणमा आठवटा स्थानीय तहमा निर्वाचन हुनेछ ।

कायम भएका १५ वटा स्थानीय तहमध्ये प्रदेश नं ४ मा पर्ने आठवटा स्थानीय तहमा पहिलो चरणमा निर्वाचन हुनेछन् । जसमध्ये चारवटा नगरपालिकामा र चारवटा गाउँपालिकामा निर्वाचन हुनेछन् ।

जसअनुसार पहिलो चरणमा निर्वाचन हुनेमध्ये नगरपालिकातर्फ गैँडाकोट, देवचुली, कावासोती र मध्यबिन्दुमा निर्वाचन हुनेछन् भने गाउँपालिकातर्फ बुलिङटार, बुङदीकाली, हुप्सेकोट र विनयी रहेका छन् ।

नवलपरासीमा हाल छवटा निर्वाचन क्षेत्र छन् । जसमध्ये क्षेत्र नं १, २ र ३ मा पहिलो चरणमा निर्वाचन हुने छ । निर्वाचन क्षेत्र नं ४ ५ र ६ भने प्रदेश नं ५ मा पर्ने भएकाले दोस्रो चरणमा निर्वाचन हुनेछ ।

क्षेत्र नं १, २ र ३ मा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिन्छ । यसैगरी निर्वाचन क्षेत्र नं ४ ५ र ६ मा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाबीच प्रतिस्पर्धा देखिन्छ ।

नवलपरासीमा हाल सात नगरपालिका र आठ गाउँपालिका रहेका छन् । त्यहाँबाट कुल ८९७ जना जनप्रतिनिधि चयन हुँदैछन् ।

जसमा स्थानीय तहअनुसार तीन नगरपालिका तथा गाउँपालिकामा कुल १६६ वटा वडाको सङ्ख्या रहेका छन् ।

नवलपरासीमा आसन्न स्थानीय तहको निर्वाचनमा नगरसभातर्फ ६०५ जना र गाउँसभातर्फ २९२ जना जनप्रतिनिधि चयन हुने जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा चूडाविक्रम शाहीले जानकारी दिए ।

नवलपरासीमा कुल तीन लाख ६९ हजार ८९४ मतदाता सङ्ख्या रहेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यस जिल्लामा २३२ मतदानस्थल र ४८७ मतदान केन्द्र रहने छन् । नवलपरासीमा ३२ राजनीतिक दलले दल दर्ता गराएका छन् । रासस