७ साउन, एजेन्सी ।
छिमेकी मुलुकको नाकाबन्दी खेपिरहेका कतारका राजाले वार्ताबाट समस्याको समाधान खोज्न आब्हान गरेका छन् । नाकाबन्दीपछि पहिलो पटक टेलिभिजन सम्वोधन मार्फत सार्वजनिक अभिब्यक्ति दिदै राजा शेख तमिम बिन हमाद अल थानीले वार्तावाट समस्याको निकास खोज्न छिमेकी मुलुकहरुलाई आग्रह गरेका हुन ।

कतार वार्ताका लागि तयार रहेको तर त्यसमा आफ्नो देशको सार्वभौमसत्ताको भने सम्मान हुनुपर्ने पनि कतारी राजाले सम्वोधनमा स्पष्ट पारेका छन । टेलिभिजन सम्बोधनका क्रममा राजा अल थानीले आफ्नो देशविरुद्ध भएको अभियानको विरोधमा जारी राखेको धैर्यताका लागि आफ्ना नागरिकलाई धन्यवादसमेत दिए ।

उनले प्रतिबन्धका बाबजुद आफ्नो देशको जनजीवन पहिलेकै अवस्थामा रहेको पनि दाबी गरेका छन् । साउदी अरेबिया, इजिप्ट, बहराइन तथा युएईले कतारले आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै उसँगको सम्बन्ध तोडनुका साथै नाकाबन्दीसमेत लगाएका छन् । कतारले भने आरोपमा सत्यता नभएको बताउँदै आएको छ ।