मेलम्ची, २७ भदौ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मेलम्चीको संयुक्त टोलीले नागरिकता प्रमाणपत्र र सरकारी छाप कीर्ते गरी १० वर्ष अघिदेखि फरार रहिआएका एक अभियुक्तलाई आज पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको जिरोकिलोदेखि पिछा गर्दै प्रहरी टोलीले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट ४९ वर्षीय कुमार पाण्डेलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलका अनुसार मेलम्ची नगरपालिका–११ स्थायी घर भएका उनी साविक मेलम्ची गाविसका पूर्व उपाध्यक्ष समेत हुन् ।

जिल्ला अदालत चौताराले २०६४ वैशाख १३ गते कीर्ते नागरिकता बनाएको अभियोगमा ११ महिना कैद सजाय र रु एक हजार जरिवाना र २०६४ साल माघ १५ गते सरकारी छाप र दस्तखत कीर्ते गरेको अभियोगमा एक वर्ष कैद सजाय र रु ५० जरिवाना तोकेको थियो । दुबै अपराधमा गरी उनले कूल एक वर्ष ११ महिना कैद सजाय र रु एक हजार ५० जरिवाना भर्नुपर्ने इप्रका मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए ।

पाण्डेलाई आजै जिल्ला अदालत चौतारामा उपस्थित गराइएको हो । रासस