१५ वैशाख, काठमाडौं ।

नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि लक्षित गरेर ल्याउन लागेको चुनावी घोषणापत्र तयार पारेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सुझावसहितको घोषणापत्र तयार पारेको हो ।

५३ पेज लामो घोषणापत्र संशोधनसहित तयार पारिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । भिम रावल, प्रदिप ज्ञवाली र सुरेन्द्र पाण्डे रहेको समितिले सबैका सुझाव समेटेर तयार पारेको अन्तिम मस्यौदा शनिबार अपरान्ह बस्ने स्थायी कमिटीको बैठकमा पेश गर्नेछ । वार्षिक ५ लाखलाई रोजगारी दिने र वृद्धभत्ता मासिक ५ हजार पुर्याउने योजनासहितको घोषणापत्र तयार पारेको भट्टराईले जानकारी दिए ।

एमालेले आइतबार दिउसो ३ बजे पार्टी कार्यालय धुम्वाराहीमा आफ्नो घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ । त्यसैगरी नेकपा एमाले स्थायी कमिटी बैठकले सरकारले संसद्मा पेश गरेको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने निर्णय गरेको छ ।

वैशाख ३१ को निर्वाचन कुनै पनि हालतमा हुनुपर्ने निष्कर्ष निकालेको भट्टराईले जानकारी दिए ।