१९ मंसिर,चितवन  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सबै तयारी पुरा भएको छ । जिल्लामा रहेका तीन क्षेत्रको १६१ मतदानस्थलको ४०८ केन्द्रमा कर्मचारी, मतपत्र, परिचयपत्र लगायतका निर्वाचन सामग्री पुगिसकेका छन् ।

निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि मजबुत बनाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन सम्पन्न गर्नका लागि तीन हजार २६४ कर्मचारी, एक हजार ६२७ स्वमंसेवक परिचालन गरिएको छ । पाँच सयभन्दा बढी मतदाता रहेको केन्द्रमा १२ कर्मचारी र स्वयंसेवक परिचालन गरिएको छ भने पाँच सयभन्दा कम मतदाता रहेको केन्द्रमा ११ जना कर्मचारी र स्वयंसेवक खटाइएको छ ।

मतदानस्थलमा खटिएका कर्मचारीले मतदानस्थल बनाउने तयारी थालेका छन् । सुरक्षाका दृष्टिले पनि जिल्लाको सुरक्षालाई चुस्त बनाउँदै लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक थापाले जानकारी दिए । उनका अनुसार मतदान केन्द्रको संवेदनशीलताका आधारमा १२ देखि ४९ जनासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ । समग्र जिल्लाको सुरक्षाका लागि आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको र सम्बेदनशिल स्थानमा थप मद्दतसमेत तयारी अवस्थामा राखिएको उनले बताए ।

जिल्लामा रहेका मतदान केन्द्रमध्ये ५२ वटा मतदान केन्द्र अति संवेदनशील केन्द्रका रुपमा राखी विशेष सुरक्षा व्यवस्था गरिएको छ ।  जिल्लामा उच्च तहका नेतृत्वको प्रतिस्पर्धा भएकाले सुरक्षा व्यवस्थालाई अझै मजबुत बनाउनका लागि चारवटा तालिमप्राप्त कुकुरसहित दैनिक २५ जनाको टोलीले डग स्मिकिङसमेत शुरु गरेको थापाले बताए। दैनिक सात ठाउँमा र आवश्यकताअनुसार उम्मेदवारको घर तथा मतदानस्थलमा कुकुरको प्रयोग गरिने उनले जानकारी दिए । सुरक्षा व्यवस्था बलियो बनाउनका लागि प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकको नेतृत्वमा २५ मोबाइल टोली, सशस्त्र प्रहरी बलको ६० वटा मोबाइल टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र बाह्य घेरामा नेपाली सेनाले सुरक्षा दिने व्यवस्था मिलाइएको छ । जिल्लालाई १२ भागमा विभाजन गरी सादा पोसाकमा प्रहरी परिचालनसमेत गरिएको छ ।

निर्वाचनलाई लक्षित गरी नेपाली सेना र सशस्त्र प्रहरीले तीन निर्वाचन क्षेत्रमा बेस बनाएर सुरक्षा दिइरहेको छ । आवश्यकताअनुसार अझै थप गर्दै लगिने थापाले बताए । मौन अवधिमा हुन सक्ने घटना नियन्त्रणका लागि १५ वटा टोलीसमेत खटाइसकिएको छ । जिल्लामा मतदाता सङ्ख्या तीन लाख ५४ हजार ३६ मध्ये एकजना तेस्रोलिंगी पनि छन् । कार्यालयका अनुसार एक लाख ८४ हजार ६८ महिला र एक लाख ६९ हजार ९६७ जना पुरुष मतदाता छन् । रासस