२४ चैत, विराटनगर । सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले अन्तरिम मन्त्रिपरिषद्ले संविधानसभा निर्वाचनको मिति अविलम्ब घोषणा गर्नुपर्ने बताएका छन् । सद्भावना पार्टी मोरङद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष महतोले जुन उद्देश्यले सरकार गठन गरिएको हो सोही अनुसार असारभित्र अथवा कारणसहित मङ्सिर महिनामा संविधानसभा निर्वाचनको मिति घोषणा गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले असारमा निर्वाचन गर्न चार दलबीच सहमति भएको बताउँदै अब कुनै पनि हालतमा सरकारले संविधानसभा निर्वाचनको मिति घोषणा गर्नुपर्छ भने । अध्यक्ष महतोले राष्ट्रको सम्पूर्ण समस्याको समाधान संविधानसभा निर्वाचन भएकाले संविधानबाट लोकतन्त्रको संस्थागत गर्न सकिने बताए । एक प्रश्नको जवाफमा उनले निर्वाचन दलहरुको अग्निपरीक्षा भएकाले यसबाट कोही पनि डराउनु हुँदैन भने । अध्यक्ष महतोले केही दलहरु वार्तामा पनि नआउने र निर्वाचनमा भाग पनि नलिने भन्ने कुरा अलोकतान्त्रिक गतिविधि भएको आरोप लगाए।

उनले सर्वसम्मति खोज्ने नाममा लोकतन्त्रलाई बन्धक बनाउने काम कहीँ कतैबाट हुनु हुँदैन भन्दै अधिकांश दल निर्वाचनका पक्षमा भएकाले निर्वाचनको मिति तोक्न ढिलाइ गर्न नहुनेमा जोड दिए । अध्यक्ष महतोले चार दलबीच निर्माण भएको राजनीतिक संयन्त्रमा बाहिर रहेका दलहरुलाई पनि समावेश गर्नुपर्नेमा जोड दिए । उनले आफ्नो मधेसी मोर्चामा पनि केही दलले मधेस विरोधि क्रियाकलाप गरेको आरोप लगाउँदै आगामी निर्वाचनमा आफ्नो पार्टीले कुनै मधेसी दलसँग तालमेल नगर्ने प्रस्ट पारे । उनले आफ्नो पार्टीको मुद्दा भनेको सङ्घीयता, समावेशी र समानता रहेको बताउँदै २४० निर्वाचन क्षेत्रमा पार्टीले उम्मेदवार दिने जानकारी दिए। रासस