२७ असोज,काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गतेका लागि तय भएको संघ र प्रदेश निर्वाचनको सुरक्षा तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । 

बैसठ्ठीऔँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन सफल पार्न प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरे र संघ र प्रदेशको चुनावमा पनि सोही भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सीमित स्रोत, साधनका बाबजुद प्रहरीले देशमा शान्ति सुरक्षा स्थापना गर्न खेलेको भूमिका सराहनीय रहेको बताउँदै उनले भने – “त्यसका लागि राष्ट्रको तर्फबाट म उच्च प्रशंसा गर्छु ।”

प्रहरी र नागरिकबीचको सामिप्यतामार्फत समाजलाई सुरक्षित राख्न थप सक्रिय भएर लाग्न प्रहरीलाई उनले निर्देशन दिए ।

देशभित्र मात्रै होइन संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएर प्रहरीले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनामा समेत महत्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।

गृहमन्त्री जनार्दन शर्माले कर्तव्यपालनको क्रममा वीरगति प्राप्त गरेका प्रहरीका परिवार र घाइते प्रहरीका लागि थप कल्याणकारी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको तथा त्यसलाई संघीय प्रहरी ऐनमै समावेश गर्न लागिएको जानकारी दिए ।

प्रहरीको कामको मूल्याँकन गर्ने निकाय जनता भएको बताउँदै उहाँले रचनात्मक, व्यावसायिक र जनताप्रति समर्पित प्रहरी आजको आवश्यकता भएको विचार व्यक्त गरे ।

प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राखेर व्यावसायिक प्रहरीका रुपमा विकास गर्न आफूले ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्र ल्याएको र सोअनुरुप काम भइरहेको पनि उनले जानकारी दिए ।

राष्ट्रप्रति सेवाको प्रतिबद्धतासहितको एकता र प्रतिस्पर्धाको विकास प्रहरीमा हुनुपर्नेमा उनको जोड थियो ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीले कानूनी मान्यता पाएको दिनको सम्झनामा मनाइने प्रहरी दिवसले सबै प्रहरीलाई देश र जनताप्रति थप कर्तव्यनिष्ट भएर सेवा प्रदान गर्न झक्झक्याउने बताए ।