९ चैत, विराटनगर।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् ।

सो पार्टीद्वारा आज विराटनगरमा आयोजित कार्यकर्ता भेलामा उनले संविधान कार्यान्वयनको पहिलो सर्त स्थानीय तहको निर्वाचन भएकाले त्यसको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष गच्छदारले मधेसी मोर्चालगायत असन्तुष्ट पक्षलाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरे । उनले भने –‘सरकारले प्रस्तुत गरेका संविधान संशोधन विधेयक परिमार्जन गरेर पारित भए मात्र निर्वाचनको वातावरण बन्न सक्छ ।’

मधेसी, थारु, आदिवासी जनजातिको मागलाई सम्बोधन गर्न मधेसमा तीन र पहाडमा पाँच प्रदेश बनाउन सक्नुपर्दछ, अध्यक्ष गच्छदारले भने– ‘प्रमुख राजनीतिक दलहरू आफ्नो निर्णय र अडानमा बस्न नसकेकाले मुलुकमा राजनीतिक स्थिरता आउन नसकेको र गतिरोध बढ्दै गएको छ ।’

उनले मुलुकको बिधमान समस्या निकासका लागि प्रमुख राजनीतिक दललाई दूरदर्शी निर्णय गर्न र मधेसी दललाई पनि अनावश्यक अडान नलिन आग्रह गरे ।

सम्मानजनक स्थिति बने नेपाली काँंग्रेससँग एकीकरण हुनसक्ने बताउँदै अध्यक्ष गच्छदारले भने – ‘एकीकरणको अवस्था नभएपनि निर्वाचनका लागि समीकरण हुन सक्ने सम्भावना बढेर गएको छ ।’ रासस