१६ मंसिर, काठमाडौं ।

कांग्रेस सभापति शेरबहादुर देउवा

कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न देउवा शुक्रबार पश्चिम लागेका छन् । शुक्रबार डोटी र अछामको कार्यक्रममा सहभागी भएका उनी १७ मंसिरदेखि निर्वाचनको दिनसम्म आफू उम्मेदवार रहेको गृहजिल्ला डडेल्धुरामा रहनेछन् ।

एमाले अध्यक्ष केपी ओली

बुधबार झापा पुगेका ओली चार दिन आफ्नै क्षेत्र नम्बर ५ मा केन्द्रित हुनेछन् । आइतबार मोरङ–३ र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ मा हुने सभालाई सम्बोधन गरेर काठमाडौं फर्कने उनको कार्यक्रम छ ।

माओवादी अध्यक्ष प्रचण्ड

निर्वाचन नसकिएसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन–३ नछाड्ने भएका छन् । उनले निर्वाचनको मौन अवधि सुरु नभएसम्म घरदैलो कार्यक्रमलाई नै निरन्तरता दिनेछन् ।

एमाले नेता माधव नेपाल

नेता नेपाल आफ्नै निर्वाचन क्षेत्र काठमाडौं २ मा केन्द्रित भएका छन् । उनी शुक्रबार र शनिबार कागेश्वरी मनोहरा र शंखरापुरमा घरदैलोमा सहभागी हुनेछन् । बिहीबार उनले साँखुमा आयोजित चुनावी सभालाई सम्बोधन गरे ।

कांग्रेस नेता रामचन्द्र पौडेल

पौडेल शुक्रबारदेखि निर्वाचनको दिनसम्म आफ्नै निर्वाचन क्षेत्र तनहुँ २ मा घरदैलो र मतदाता भेटघाटमा व्यस्त हुनेछन् । उनले दमौली र भानु नगरपालिका तथा आबुखैरेनी गाउँपालिकामा घरदैलो कार्यक्रम गर्नेछन् ।

राप्रपा अध्यक्ष कमल थापा

राप्रपा अध्यक्ष थापा निर्वाचनको दिनसम्मै गृहजिल्ला मकवानपुरमै रहनेछन् । उनी मकवानपुर १ का साथै अन्य निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने राप्रपा सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव

यादव आफ्नो निर्वाचन क्षेत्र सप्तरी २ मै व्यस्त छन् । मौन अवधिसम्म हरेक राति यादवको चुनावी कार्यक्रमको सेड्युल बन्ने गरेको उनका सहयोगी अजय चौरसियाले बताए ।

महामन्त्री कोइराला आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहने

कांग्रेस महामन्त्री डा. शशांक कोइराला निर्वाचनसम्मै आफ्नै निर्वाचन क्षेत्र नवलपुरमा व्यस्त रहने भएका छन् । उनले अबका दिन आफ्नै निर्वाचन क्षेत्रमा घरदैलो र कोणसभामा बिताउने स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । ‘महामन्त्रीज्यू अब आफ्नै निर्वाचन क्षेत्रमा घरदैलो र मतदाता भेटघाटमा बिताउनु हुन्छ,’ तिवारीले भने, ‘जिल्लाबाहिर जाने कार्यक्रम छैन ।’

निधि पनि आफ्नै निर्वाचन क्षेत्रमा

कांग्रेस नेता विमलेन्द्र निधि पनि बिहीबारदेखि धनुषास्थित आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त भएका छन् । एक साता बिरामी भएर काठमाडौंस्थित ओम अस्पतालमा बिताएका निधि बुधबार गृहजिल्ला फर्केका थिए । अब आफ्नै निर्वाचन क्षेत्रमा आमसभा, घरदैलो र मतदाता भेटघाटमा व्यस्त रहने उनका सहयोगी रामजी दाहालले जानकारी दिए ।

एमाले शीर्ष नेता आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुने

एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेललगायत नेताहरू बुधबारदेखि आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त हुन थालेका हुन् ।

दुई सातासम्म देशव्यापी चुनावी सभालाई सम्बोधन गर्न देश दौडाहमा सक्रिय भएका अध्यक्ष ओली बुधबार झापा पुगेका छन् । बुधबार एकै दिन ओलीले झापाका दुईवटा भेलालाई सम्बोधन गर्नुका साथै मतदातासँग भेटघाट गरेका छन् । चार दिन आफ्नै क्षेत्रमा केन्द्रित हुन झापा झरेका ओली १७ मंसिरमा मोरङ–३ र चितवनमा हुने सभालाई सम्बोधन गरेर काठमाडौं फर्कने कार्यक्रम छ । आजको नयाँ पत्रिकामा खबर छ ।
एमाले वरिष्ठ नेता नेपाल र खनाल पनि अफ्नै निर्वाचन क्षेत्रमै केन्द्रित भएका छन् । नेपालले बिहीबार काठमाडौं साँखुमा हुने सभालाई सम्बोधन गर्दै छन् भने खनाल पनि आफ्नै निर्वाचन क्षेत्र इलाममा घरदैलोसहितको अभियानमा व्यस्त छन् ।