१८ मंसिर, रत्ननगर, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनलगत्तै कम्युनिष्ट पार्टीको बहुमतको सरकार बन्नेमा दुविधा नरहेको बताएका छन ।

चितवनको रत्ननगरमा वाम गठबन्धनद्वारा आज आयोजित बृहत् चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिष्टको सरकार बनाउन कसैले रोक्न नसक्ने दाबी गरे । यसअघि मंसिर १० गतेको ३२ जिल्लाको निर्वाचनमा कम्युनिष्टको बहुमतभन्दा बढी मत खसेको आफूहरुको निष्कर्ष रहेको बताए ।

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले एक पटक पाँच वर्ष कम्युनिष्टले सरकार चलाउन पाए ५० वर्ष कम्युनिष्टलाई कसैले केही गर्न नसक्ने जिकिर गरे ।

दाहालले भने, “एकपटक कम्युनिष्टले जनताको पक्षमा, विकास निर्माण र समृद्धिको पक्षमा पाँच वर्ष काम गर्न पायो भने, ५० वर्ष कम्युनिष्टलाई कसैले रोक्न सक्दैन ।” त्यसबेला नेपाल एसियाली मापदण्ड मात्रै नभई अन्तर्राष्ट्रियस्तरको बन्ने भन्दै यो ऐतिहासिक अवसर गुम्न दिन नहुनेमा जोड दिए ।

चितवनको क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसहित प्रदेशसभा सदस्यका उम्मेदवार कृष्ण खनाल र दावा लामाको जित सुनिश्चित भइसकेको भन्दै दाहालले अब चितवन नमूना विकासको मोडलमा अघि बढ्ने दाबी गरे ।

कार्यक्रममा चितवन क्षेत्र नं १ का उम्मेदवार एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले दुई भाइ मिलेर चितवनको विकासमा कायापलट गर्ने उद्घोष गरे । उनले पूर्वी चितवनको कयरखोला र राप्तीको तटबन्धन गरेर यो क्षेत्रमा बाढीबाट भयमुक्त पार्ने बताए ।

पहिलो प्राथमिकता शिक्षामा लगानी गर्ने भन्दै पाण्डेले घर नहुनेलाई आवास दिने, वृद्धभत्ता बढाएर पाँच हजार पु-याउने र देशलाई नयाँ बोटोमा डोहो-याउने जिकिर गरे ।

सो क्रममा (माओवादी केन्द्र)का नेता अमिक शेरचन, अग्नि सापकोटा, एमाले नेता काशिनाथ अधिकारी, कलाकार नारद खतिवडा, चितवन क्षेत्र नं १ को प्रदेशसभा सदस्यका उम्मेदवार कृष्ण खनाल र दावा लामालगायतको सहभागिता थियो ।