२ साउन, काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन सम्पन्न भएका तीन वटा प्रदेशका ३१ जिल्लामा जिल्ला समन्वय समिति गठन गर्नका लागि निर्वाचन अधिकृत नियुक्ति गर्ने निर्णय गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यको निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

पहिलो चरणमा भएका चितवन, रुकुम र नवलपरासीमा भने पछि निर्वाचन हुनेछ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दिएको जानकारीअनुसार, जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुखमध्ये राजनीतिक दलले उम्मेदवारी दिँदा एक जना महिला उम्मेदवार हुनैपर्ने व्यवस्था छ ।

नेपालको संविधानको धारा २२० अनुसार हुन लागेको यस निर्वाचनमा जिल्ला सभाले एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यकसहित बढीमा नौ सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्नेछ ।

आयोगले निर्वाचन अधिकृतलाई साउन ७ गतेबाट लागू हुनेगरी नियुक्त गर्ने निर्णय गरेको छ । निर्वाचन अधिकृत साउन ८ बाट निर्वाचन अधिकृतको कार्यालय खोल्ने छन् भने २१ दिनभित्र निर्वाचनको सम्पूर्ण कार्य पूरा गर्नुपर्नेछ । रासस