१९ मंसिर, काठमाडौं । निर्वाचन विरोधी गतिविधीमा संलग्न भएको आरोपमा अहिलेसम्म करिव नौ सय जनालाई पक्राउ गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

निर्वाचन विरोधी गतिविधी र बम विस्फोटका घटनामा वृद्धि भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक मुद्दाका साथै हातहतियार तथा खरखजाना, ज्यान मार्ने उद्योगलगायतका मुद्दा दायर गरेर कारवाही प्रक्रिया अघि बढाएको छ ।

प्रहरीका अनुसार पहिलो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनदेखि अहिलेसम्म आठ सय चौरानब्बे जना पक्राउ परेका छन् । चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंबाट मात्रै पाँच सय पचास जनाभन्दा बढीलाई पक्राउ गरेको महानगरीय प्रहरी आयुक्त कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार मंसिरमा मात्रै शंकास्पद गतिविधि गर्ने १७ सय ५४ जना पक्राउ परेका थिए । पक्राउ परेका मध्ये पाँच सय पचास जना बाहेक अन्यलाई सोधपुछ र अनुसन्धानपछि छाडिएको प्रहरीले जनाएको छ ।