४ मंसिर, काठमाडौं । निर्वाचन सुरक्षालाई लिएर बसेको बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई सोधेका थिए, ‘दैनिक विस्फोट गराउने बम कहाँबाट आइरहेको छ ? अर्यालले सहजै जफाव दिए, ‘खुला सिमाना छ हजुर । उतै (भारत) बाट आएका हुन् ।’ मुलुकको कार्यकारी प्रमुख र सुरक्षा निकायका प्रमुखबीच भएको यो संवादले बम बनाउने गोलाबारुद छिमेकी मुलुक भारतबाट आएको कुरामा दुईमत छैन । प्रहरी महानिरीक्षक अर्यालको जवाफपछि गृहमन्त्रीसमेत रहेका देउवाले ‘सीमामा तैनाथ सुरक्षाकर्मी के हेरेर बसेका छन् ? ‘ भन्दै प्रतिप्रश्न गरेका थिए ।

सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठले सीमामा रहेका सीमा सुरक्षा पोस्टभन्दा अलग बाटो भएर विस्फोटक पदार्थ भित्रिएको रिपोर्टिङ गरे । बम पहाडी क्षेत्रमा पड्किएपछि बम बनाउने कच्चा पदार्थ तराइका जिल्ला हुँदै पहाडमा स्टोर गरेर राखेको अर्याल र सिंहले देउवालाई दर्शाए । सीमा सुरक्षाको ड्युटी सशस्त्र प्रहरीले गर्दै आएको छ । सीमा नजिक नेपाल प्रहरीका इकाइ र वडा प्रहरी कार्यालय पनि नभएका होइनन् । तर, सुरक्षा निकायलाई छलेर विस्फोटक पदार्थ भित्रिएको दाबी सुरक्षा निकायको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

अहिले नेत्रविक्रम चन्द ‘विप्लव’ले मात्रै बम पड्काएको सूचना बाहिर आए पनि अब विप्लवभन्दा बाहिर रहेका अन्य तत्वमाथि पनि निगरानी राख्न प्रहरीले सुरु गरेको छ । शनिबार रौतहटको चन्द्रपुरमा भएको बम विस्फोट घटना विप्लव नभई अन्य समूहले गराएको निष्कर्ष प्रहरीको छ । प्रहरीको विश्लेषणमा रौतहट विप्लवको पकड क्षेत्र मानिँदैन ।
प्रहरी र सशस्त्र प्रहरीले आइतबारबाट सीमा केन्द्रित सुरक्षामा जोड दिन सुरु गरेका छन् । प्रहरी प्रमुख अर्यालले भने, ‘सीमा केन्द्रित सुरक्षामा जोड दिन मातहतका निकायलाई निर्देशन दिएको छु ।’ चुनाव भाड्ने वा हुन नदिने पार्टी वा समूहले विस्फोटका घटना गराउँदै आएको अर्यालको भनाइ छ ।

सशस्त्र प्रहरी मुख्यालयले तत्कालीन गृहमन्त्री जनार्दन शर्मासमक्ष ६० वटा सीमा सुरक्षा पोस्ट (विओपी) थप्न माग गरेको थियो । सो योजना गृहमै थन्किएको छ । हाल स्थायी र अस्थायी गरी ९० वटा विओपी छन् । भएका विओपी पनि धेरै टाढाको दूरीमा छ । मुख्यालयका अनुसार भारतीय सीमादेखि बढीमा पाँच सय मिटर दूरीमा विओपी हुनुपर्ने भए पनि अहिले एकदेखि दुई किलोमिटर दूरीमा मात्र छ । त्यस्तै, केही विओपी पाँच मिलोमिटर फरकमा छन् भने केही ५० किलोमिटर दूरीमा छन् ।

मुख्यालयका अनुसार दाङको कोइलावासमा एउटा मात्रै विओपी छ । कपिलवस्तुदेखि बाँकेसम्म एउटा मात्रै विओपी छ । केही विओपी ६० देखि ७० किमि फरकमा छन् । पर्सादेखि झापासम्म भने व्यवस्थित छ । पश्चिम क्षेत्रमा विओपी ज्यादै पातलो रहेको सशस्त्र मुख्यालयले जनाएको छ । नेपालगन्जमा विओपी भए पनि नजिक छैनन् । अहिले भएका विओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ४० देखि ५० जना खटिएका छन् ।

भारतले सीमा सुरक्षा पोस्ट सयदेखि दुई सय मिटरमा राखे पनि नेपालले भने दुई किलोमिटर टाढा विओपी राखेको र धेरै फरक दूरीमा रहेका कारण खुला सिमानाको फाइदा उठाएर तस्करीसमेत मौलाउँदै आएको छ । अहिले भित्रिएका विस्फोटक पदार्थ पनि खुला सिमानाकै कारण रहेको बुझाइ सुरक्षा निकायको छ । खासगरी वीरगन्ज, रुपन्देहीको जमुना, विराटनगरको जोगबनीमा मान्छेको ओहोरदोहोर बढी हुँदै आएको छ । तर, उनीहरूलाई पनि नेपाली पक्षले ‘वान वाई वान’ चेक गर्न सकेको छैन ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी बाबुराम पाण्डेले अहिले भएका स्रोत-साधनअनुसार सशस्त्रले धेरै कडा ड्युटी गर्दै आएको बताए । उनले भने,‘ हामीले सुरक्षा दिन कुनै कम्प्रमाइज गरेका छैनौं । आँखाले भ्याउने दूरीसम्म विओपी नहुँदा सोचेजति सजिलो भएको छैन ।’ उनले सशस्त्रले पछिल्ला दिनमा गस्ती बढाएको र भारतीय सुरक्षा निकायसँग समन्वयमा समूहगत रूपमा गस्ती गर्दै आएको बताए । सशस्त्रले सरकारसँग बढीमा पाँच सय मिटर दूरीमा र फराकिलोमा एकदेखि तीन किलोमिटरसम्ममा विओपी राख्नुपर्ने माग गरेको छ ।