१० मंसिर, काठमाडौं। प्रतिनिधि सभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन हुने जिल्लाहरूको मौसममा आंशिक बदली हुने र उच्च हिमाली जिल्लाहरूमा भने कही कही हिउँ पर्न सक्ने जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्सिर १० गते आइतबार निर्वाचन हुने जिल्लाहरूमा मौसम सफा रहने छैन । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरूमा समान्यतः मौसम बदली हुने तथा उच्च हिमाली क्षेत्रहरूमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको जानकारी महाशाखाका मौसमविद् शान्ति कँडेलले दिए । आजको गोरखापत्रमा खबर छ ।

पहिलो चरणअन्तर्गत निर्वाचन हुने प्रदेश नं. १ का पूर्वी क्षेत्रका पहाडी तथा हिमाली जिल्लाहरूमा मङ्सिर १० र ११ गते नै सामान्यतः आंशिक बदली भई एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जानकारी मौसमविद् कँडेलले दिए । पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर १ का सातवटा जिल्लामा निर्वाचन हुँदैछ ।

उनका अनुसार पहिलो चरण अन्तर्गत निर्वाचन भइरहेका प्रदेश नं. ३ को मध्य क्षेत्रका पहाडी तथा हिमाली भूभागमा मङ्सिर १० र ११ गते सामान्यतया आंशिक बदली भई उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ । पहिलो चरणमा प्रदेश नं. ३ का छवटा जिल्लामा निर्वाचन भइरहेको छ ।

त्यसैगरी पहिलो चरणअन्तर्गत निर्वाचन भइरहेका प्रदेश नं. ४, ५, ६ र ७ का पश्चिम क्षेत्रका पहाडी र हिमाली भूभागमा कही कही आंशिक बदली रहने, कहीँ कहीँ हिमपात हुने र कहीँ कहीँ मौसम सफा रहने जानकारी पनि मौसमविद् कँडेलले दिए ।

उनका अनुसार प्रदेश नं. ४ मा १० र ११ गते सामान्यतया आंशिक बदली भई उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने प्रदेश नं. ५, ६ र ७ मा मौसम सामान्यतया सफा रहनेछ ।

आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको पहिलो चरणअन्तर्गत हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा आइतबार निर्वाचन हुँदैछ । त्यसअनुसार प्रदेश नम्बर १ का सातवटा, प्रदेश नम्बर ३ का छवटा, प्रदेश नम्बर ४ का छवटा, प्रदेश ५ का दुईवटा, प्रदेश ६ का सातवटा र प्रदेश ७ का चारवटा जिल्लामा निर्वाचन हुँदैछ ।