४ मंसिर, काठमाडौं । छातीमा समस्या देखिएपछि नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि आज राजधानीको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका छन । श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका नेता निधिलाई छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकालसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ ।

चिकित्सकले उनलाई श्वास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया हुनसक्ने आशंका गरेको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले जानकारी दिए ।

निधि आज अपराह्न ४:३० बजे अस्पताल पुगेका थिए । जनकपुरमा चुनाव प्रचारप्रसार गर्ने क्रममा श्वास फेर्न गाह्रो भएपछि उनी आज नै काठमाडौं आएका थिए ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता निधि धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका छन ।