संगीता कुँवर

२१ जेठ, जापान, टोकियो

जापानको टोकियोमा पर्ने सिबुया रेल स्टेशन नजिकैको जेब्राक्रसिङमा एकै पटक ३ हजार र एक दिनमा करिब ५ लाख जनाले जेब्राक्रसिङबाट बाटो काट्छन् । जापान भित्र सबैभन्दा धेरै पैदलयात्रीले जेब्राक्रसिङको बाटो काट्ने ठाउँमा पर्छ सिबुयाको यो जेब्राक्रसिङ ।

प्रविधिको विकासमा धेरै अगाडी रहेको जापानका लागी ट्राफिक बत्तिको प्रयोग, चालक र पैदलयात्रु नियममा बस्नु सामान्य कुरा हो । सामान्यतया यहाँ रातो बत्ति नबलुन्जेल कसैले सडक पार गर्दैन भने हरियो बत्ति बलुन्जेल जेब्राक्रसिङ पैदल यात्रु कै हुन्छ ।

पैदल यात्रु बाटोमा हिड्दा पनि ढुक्क हुन्छन् । जेब्रा क्रासिङमा गाडी रोक्नु पर्छ भन्नेमा सबै चालक पूर्ण सचेत छन् । नेपालमा पैदल यात्रुलाई जर्वजस्त नियम लागू गर्दैगर्दा जापानसँग तुलना गर्न मन लाग्छ । यसको मतलव नेपाल किन जापान जस्तो भएन भन्ने मेरो चिन्ताको विषय होइन ।

चिन्ता त यो हो कि हामी अधिकारको कुरा गर्दा कर्तव्य विर्सन्छौं, कर्तव्य पालना गर्दा अधिकार नै विर्सन्छौं । तर पनि मेरो देश जे छ, जस्तो छ मलाई नेपाली हुनुमै गर्व लाग्छ । विकसित देशबाट सिक्न सक्ने केही कुरा सिक्न सके केहि नियम प्रभावकारि हुनथ्यो ।

चालक पनि ढुक्कसंग सवारी कुदाउँछन् । जेब्राक्रसिङ पैदल यात्रुको हो भन्ने मानसिकता चालक र यात्रु दुबैमा छ । सडकमा यतिधेरै गाडीको चाप हुँदा पनि यहाँ अनावश्यक हर्न बजेको कतै सुनिदैन । केहि आकस्मित समयमा मात्र हर्न बज्छ। बाटोमा दमकल र एम्बुलेन्सको लागी त पैदल यात्रु र सबारी दुबैले बाटो छोड्दिन्छन् ।

अब तपाई काठमाण्डौमा बाटो काट्दा जेब्राक्रस भएको ठाउँबाट बाटोकाट्नु भएन भने कि २०० रुपैँया तिर्नुपर्छ । कि ३ घण्टा प्रहरीको ट्राफिक कक्षा लिनुपर्छ । राजधानी काठमाण्डौमा पैदल यात्रुलाई जेब्राक्रस र आकाशे पुलबाट बाटो काट्ने बानी बसाउन जरिवाना सहितको नियम बनाइएको छ । नेपालमा नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेदेखि काठमाडौं उपत्यकालाई हर्न निषेधित क्षेत्र समेत घोषणा गरिएको छ ।

हर्न बजाउन धेरै कमि भएको छ । हर्न निषेधित काठमाडौं घोषणा गर्नु र जेब्राक्रसिंगबाट बाटो काट्न यात्रुलाई प्रेरित गर्नु काम निक्कै स्वागत योग्य छ । तीन बर्षअघि जिल्ला छोडेर राजधानी काठमाण्डौ छिर्दा खुशि लाग्थ्यो, राजधानीमा पढ्न र काम गर्न पाउने भनेर । त्यो समय राजधानी छिरेपछि माईक्रो, ट्याम्पो र बसको रुट थाहा पाउन मलाई २ महिना लागेको थियो ।

माईक्रो भित्र कोचिएर यात्रा गर्नुपर्ने बाध्यता त जहिले पनि रहिरह्यो । चावहिलको पशुपति क्याम्पस पढ्दा म चावहिल ओम हस्पिटल हुदै सुकेधारा एकता बस्ती रुटको माइक्रो चढ्नुपथ्र्यो । १/२ पटक तालिमको शिलशिलामा राजधानी आएपनि राजधानीको दैनिकीसँग घुलमेल हुन मलाई थुप्रै समय लाग्यो ।

जब माईक्रो चढ्थे ओर्लने ठाउँ क्याम्पसको भवनभन्दा पल्लो पट्टि भईदिन्थ्यो । र माईक्रो गन्तव्य नपुगुन्जेल बाटो काट्ने कसरी भनेर सोचिरहन्थेँ । कहिले काहि हिडेरै घर फर्कौ भने पनि अग्ला ट्रक र माईक्रो अनि बस बिचको दौड प्रतियोगिता जस्तै लाग्थ्यो ।

बाटोका सवारी साधन देख्दा कतै त्यही बिचमा म पर्ने हो की भन्ने डरै डरले सताउँथ्यो । कैयौँपटक ट्राफिक प्रहरी भएको ठाउँ नजिकै गएर उनिहरुकै सहारामा बाटो काटेकी छु । त कति पटक काठमाण्डौमै हुर्कीएकी साथीले बाटो कटाईदिएर आफ्नो घर फर्केकी छन् ।

राजधानीमा मलाई आफ्नो काम र पढाई भन्दा पिर लाग्थ्यो बाटो काट्न । प्रहरीका अनुसार अहिले काठमाडौंमा झण्डै ३०० जेब्राक्रस छन् । केहि धर्सा मेटिन लागेका केहि मर्मत गरिएका । राजधानीमा अधिकांश चालक नियमभित्र रहेर सवारी साधन चलाउँदैनन् ।

बाटो काट्न सजिलोका लागि जेब्राक्रस भए पनि चालकले बेवास्ता गर्दै पैदल यात्रुलाई अझ उछिन्दै सवारी साधन कुदाउँदै लाने परिपाटि अझै छ । कति वेला कहाँ कुन गाडीले च्यापेर मरिने हो, या घाईते हुने हो कुनै टुंगो छैन ।

आर्थिक बर्ष २०७३/७४ को तथ्यांक अनुसार ४२ प्रतिशत दुर्घटना पैदल यात्रु कै कारण हुन्छन् । अझ कति पैदल यात्रुलाई जेब्राक्रसिङ र ट्राफिक नियम बारे पनि जानकारिको अभाव छ ।

दुर्घटना कम गर्न यो अभियान राम्रो बन्न सक्छ । तर जरिवानाको भरमा उम्किन पाउने ब्यवस्थाले राजश्व त बढ्ला पैदल यात्रुको सुरक्षा हुदैन । राजधानीका सबै ठाउँमा ट्राफिक लाईटको अभाव र सबैठाउँमा ट्राफिक प्रहरी नहुदाँ चालकले कति समय गाडी रोक्ने र पैदल यात्री कति समयमा पार गर्ने बारे जानकारी नै छैन ।

पर्याप्त जेब्रा र जनचेतनाविना शुरु गरिएको अभियान, अव्यवस्थित फुटपाथ, धुलोधुवा, लापर्वाही रुपमा गाडी कुँदाउने परिपाटीविरुद्द चलाएको अभियान चुनैतीपूर्ण त छ । त्यसैले कार्यान्वयन भन्दा आलोचना बढि नहोला भन्न सकिन्न । तर लागू गर्न र गराउन सके निक्कै प्रभावकारी पनि छ । त्यसैले पुर्वाधार निर्माण गर्न र नियम बनाउन र कार्यन्वयन गर्न सबैको प्रयास जरुरी छ ।