६ असोज, हेटौडा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको निर्वाचन प्रणाली ‘दुई नम्बरी’ले मात्रै चुनाव लड्न सक्ने खालको भएको बताएका छन् ।

आज हेटौडामा पत्रकारहरुसँग कुरा गर्दै दाहालले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएकाले सामान्य र मध्यम वर्गले चुनाव लड्न नसक्ने अवस्थाको रहेको बताएका हुन । निर्वाचन प्रणालीमा पूँजीपति वा दुई नम्बरीले मात्रै चुनाव लड्ने र लडाउने अवस्था रहेको भन्दै यसलाई परिवर्तन गर्नु जरुरी रहेको दाहालको भनाइ थियो ।

अध्यक्ष दाहालले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचत कार्यकारी सहितको शासन व्यवस्था नभएसम्म मुलुकको अवस्था नसुध्रिने दाबी पनि गरे ।

दाहालले आफ्नो प्रयासमा तराईमा असन्तुष्ट पक्षको सहभागितामा स्थानीय निर्वाचन सम्पन्न भएको भन्दै मतदानमा देखिएको सहभागिताले गौरव महसुस भएको पनि उल्लेख गरे । आफ्नो पार्टी प्रदेश र संघीय चुनावमा तेस्रो पार्टी मात्रै बन्ने पनि उनले बताए । पार्टी फुटका कारण अहिले नै माओवादी केन्द्र पहिलो शक्ति बन्ने अवस्था नरहेको उनको भनाइ थियो ।