२४ भदौ, काठमाडौं ।

नेपालबाट वार्षिक रूपमा झन्डै दश करोड रुपैयाँको रौँ निर्यात हुँदै आएको छ । विभिन्न ब्युटिपार्लर र सैलुनले काटेको कपाल, दाह्री र जुँगा संकलन गरी निर्यात गर्ने गरेको भन्सार विभागले जनाएको छ । विभागको गत वर्षको तथ्यांकअनुसार नेपालबाट बेल्जियम, भुटान, चीन, जापान, दक्षिण कोरिया र नेदरल्यान्डमा नौ करोड ८६ लाख ८८ हजारको रौँ निर्यात भएको छ ।

कपालको निर्यात बढ्दो
नेपालले आर्थिक वर्ष ०७३-७४ मा मान्छेको कपाल भुटानमा आठ लाख ८४ हजार, बेल्जियम चार लाख ६१ हजार, चीनमा एक करोड ५६ लाख ६७ हजार, जापानमा दुई करोड ८४ लाख ८९ हजार, दक्षिण कोरियामा चार करोड नौ लाख चार हजार र नेदरल्यान्डमा एक करोड २२ लाख ८३ हजार रुपैयाँको निर्यात गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

यस्तै, आर्थिक वर्ष ०७२-७३ मा तीन करोड ४९ लाख ३० हजार मूल्य बराबरको निर्यात गरेको भन्सार विभागका तथ्यांक अधिकृत रामप्रसाद वाग्लेले बताए । सो आवमा जापानमा १२ लाख ७३ हजार, कोरियामा ४१ लाख ९७ हजार, नेदरल्यान्डमा १८ लाख ३१ हजार र चीनमा एक करोड एक लाख ६४ हजार रुपैयाँको रौँ निर्यात भएको थियो ।

नेपालबाट निर्यात हुने रौँ नक्कली कपाल, दाह्रीजुंगा, परेली, आँखीभौँ बनाउन प्रयोग गर्ने गरेको वाग्लेले बताए । नेपालबाट रौँ कच्चा पदार्थका रूपमा निर्यात हुने गरेको रसुवा भन्सार कार्यालयका प्रमुख केदार पनेरूले बताए । मान्छेले काटेर फालेका कपाल, दाह्रीलगायतका रौँलाई प्रशोधन नगरी कच्चा पदार्थको रूपमा निर्यात हुने गरेको उनले बताए ।

विदेशबाट नक्कली रौँको आयात घट्दो क्रममा
आव ०७३-७४ मा विदेशबाट नेपालमा वार्षिक २४ हजार रुपैयाँको नक्कली कपाल, दाह्रीजुंगा, परेली, आँखीभौँलगायत आयात भएको भन्सार विभागले जनाएको छ । चीनबाट दुई हजार, भारतबाट १९ हजार र रसियाबाट तीन हजार रुपैयाँको आयात भएको छ ।

आव ०७२-७३ मा एक लाख आठ हजार रुपैयाँको नक्कली कपाल, दाह्रीजुँगालगायत आयात भएको थियो । जसमा भारतबाट ७० हजार, चीनबाट ३१ हजार र इन्डोनेसियाबाट सात हजार रुपैयाँको आयात भएको विभागले जनाएको छ । ‘विदेशबाट आयात हुने कपाल, दाह्रीजुँगाको परिमाण थोरै देखिन्छ,’ विभागका तथ्यांक अधिकृत रामप्रसाद वाग्लेले भने, ‘यस्ता खालका सामग्री कम्पनीभन्दा व्यक्तिगत रूपमा ल्याइने गरिन्छ ।’

रौँको लम्बाइअनुसार महँँगोमा बिक्री
कपालको लम्बाइअनुसार नक्कली कपाल महँगोमा बिक्री हुने सायम इन्स्टिच्युट अफ हेयर डिजाइन एन्ड ब्युटी केयरकी सञ्चालिक कमला श्रेष्ठ बताउँछिन् । ‘कपालको रौँ जति लामो हुन्छ, त्यति नै धेरै मूल्यमा बिक्री हुन्छ,’ उनले भनिन्, ‘छोटोमा १५ सेन्टिमिटरभन्दा लामो हुनुपर्छ ।’ नेपालबाट प्रशोधन नभई गुजुल्टोको रूपमा रौँ बाहिर जाने गरेको श्रेष्ठको भनाइ छ ।