२८ कात्तिक, चितवन । आगामी मंसिर १४ गतेबाट नेपालका संरक्षित क्षेत्रहरुमा बाघ गणना गरिने भएको छ ।

 निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार क्यामरा ट्यापिङ पद्धतिद्वारा बाघ गणना गरिने भएको हो ।करिब दुई हजार अत्याधुनिक प्रविधिका क्यामरा जडान गरी क्यामराले कैद गरेका तस्वीरको अध्ययन गरेर बाघ गणना गरिने उनले बताए ।

पर्सा वन्यजन्तु आरक्षबाट गणना शुरु गरिने उहाँले जानकारी दिनुभयो । पर्सा, चितवन हुँदै करिब तीन महिनाको अवधिमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पुगेर बाघ गणना सम्पन्न गरिने लक्ष्य रहेको छ । बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने छ । यसअघि पनि दुवै देशमा एकैसाथ बाघको गणना गरिएको थियो तर प्रविधि पनि एउटै प्रयोग गर्न लागिएको यो पहिलो पटक हो ।

नेपालको चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षसँगै भारतको वाल्मीकि टाइगर रिजर्ब छ ।नेपालको बर्दिया राष्ट्रिय निकुञ्जसँगै भारतको कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरी पर्छ । त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग भारतको दुधुवा टाइगर रिजर्ब जोडिएको छ । दुवै देशको निकुञ्ज, आरक्ष र वन क्षेत्रमा बाघ ओहोरदोहोर गर्ने गर्ने हुँदा के कति बाघ ओहोरदोहोर गर्छन् भन्ने यकिन गर्न पनि योपटक दुवैतर्फ एकैपटक बाघ गणना गर्न लागिएको हो ।

गणनाका लागि तीन करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।नेपालमा सन् २०१३ मा बाघको गणना भएको थियो । त्यो बेला देशभर बाघको संख्या १ सय ९८ पुगेकामा चितवन निकुञ्जमा मात्र सबैभन्दा धेरै १२० बाघ थिए ।चितवन निकुञ्जबाहेक पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा निकुञ्जमा बाघ पाइन्छ । पाटे बाघ विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो ।सन् २०१० मा बाघ पाइने विश्वका विभिन्न देशका सरकारी अधिकारीको रुसमा सम्पन्न बैठकले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पु¥याउने निर्णय गरेको थियो ।