२६ फागुन, काठमाडौ । नेपाल भ्रमणमा रहेका प्रमुख भारतीय दलका प्रभावशाली नेताहरूले भारतले नेपालमा राजनीतिक दलहरूबीचको राजनीतिक सहमति र पुन:संविदानसभाको निर्वाचन चाहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेताहरूले नेपालमा विगत पाँच वर्षमा दलहरुवीच सहमति हुन नसकेको र संविधान आउन नसकेकोमा दु:ख समेत ब्यक्त गर्दै नेपालमा छिट्टै सहमति र सहमति पछी निर्वाचन हुने विश्वास व्यक्त गरेका छन् ।
साक्षात्कारमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले नेपालमा राजनीतिक दल वा प्रशासक कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने कुरा नेपालका राजनीतिक दलहरुले निर्णय गर्ने विषयमा भएको स्पष्ट पार्दै नेपालको राजनीतिमा भारतको चासो भए पनि आन्तरिक मामिलामा हस्तक्षेप कहिल्यै नगर्ने स्पष्ट पारे । उनले भने, ‘नेपालको आन्तरिक मामिलामा हाम्रो हस्तक्षेप हुँदैन । एउटा असल छिमेकी भएको नाताले हाम्रो सहयोग रहँदै आएको छ । हाम्रो चाहना नेपालमा निर्वाचन भएर स्थायीत्व कायम होस र सम्पन्न नेपाल निर्माण होस भन्ने हो ।’
नेपालमा शान्ति र स्थायीत्व भए भारतमा पनि त्यसको प्रभाव पर्ने भएकोले भारत सधै नेपालमा शान्ति र स्थायीत्वको पक्षमा उभिएको बताउँदै जोलीले नेपालका राजनीतिक दलहरुले विगत पाँच वर्षदेखि सहमति कायम गर्न नसकेकोमा दुख ब्यक्त गरे । उनले भने, ‘अब नेपालमा सहमतिको वातावरण बनेको छ । यसलाई पूर्णता दिएर दलहरु अघि बढ्नु पर्छ ।’
उनले आजै विहान एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा आफुहरुले नेपालको भूमिबाट भारत विरोधी गतिविधी हुन नहुनेमा जोड दिएको र प्रचण्डले पनि त्यस्तो हुन नदिने प्रतिबद्धता ब्यक्त गरेको जानकारी दिए ।
प्रधानमन्त्री हुँदा आफूले चीनबाट विदेश यात्रा सुरू गरेकोमा अब भारतबाट यात्रा सुरू गर्ने प्रतिबद्धता ब्यक्त गर्दै प्रचण्डले नेपालमा राजनीतिक सहमति कायम भएर नयाँ सरकार निर्माण हुने वित्तिकै आफूले भारत भ्रमण गर्ने बताएको जोलीले बताए । प्रचण्डले भारतमा गरेको १२ बुँदे सम्झौता पूर्ण रुपमा कार्यान्वयन भएपछि भारत जाने बताएका थिए । प्रचण्डसँगको भेटलाई उद्यृत गर्दै जोलीले भने, ‘मलाई चीनबाट पनि धेरै निम्तो आएको छ । तर अब पहिला म भारत जान्छु ।’ सो अवसरमा प्रचण्डले अब आफू नेपाल भारतबीचको सम्बन्धलाई अझै उचाईमा पुर्याउन लाग्ने समेत भेटमा बताएको उनले जानकारी दिए ।
उनले आफूले भेटमा प्रचण्डलाई १२ बुँदे सम्झौताको अक्षरंश पालना र हिन्दु राष्ट्रलाई रक्षा गर्न आग्रह गरेको उल्लेख गर्दै नेपाल हिन्दु राष्ट्र नरहेकोमा आफूहरु दुखित भएको समेत बताए ।
जोलीले केही साताभित्रै नेपालमा सहमति भएर निर्वाचन हुने विश्वास गर्दै राजनीतिक सहभातिको यात्रालाई निरन्तरता दिन आग्रह गरे ।
जनता दल यूनाईटेडका महासचिव केसी त्यागीले नेपालमा छिटो निर्वाचन गर्न नेपाली जनताले दलहरुलाई दवाव दिनु पर्ने आवश्यकता औल्याउँदै नेपालमा दलहरुवीच छिटो सहमति भएर निर्वाचन हुने विश्वास ब्यक्त गरे ।
उनले नेपालमा जारी शान्ति प्रक्रिया दलहरुले तत्काल निष्कर्समा पुर्याउनु पर्नेमा जोड दिदै शान्ति प्रक्रिया पुरा नगरे दलहरु नेपाली जनताको कोपभाजनको सिकार बन्ने चेतावनी दिए ।
असल छिमेकीको नाताले नेपालको राजनीतिमा भारतको चासो र चिन्ता भए पनि हस्तक्षेप नरहेको स्पष्ट पार्दै नेपालमा कसको नेतृत्वमा सरकार निर्माण गर्ने भन्ने विषय नेपाली जनताको विशुद्ध आन्तरिक मामिला भएको बताए ।
उनले पनि प्रचण्डलाई आफूहरुले भारत भ्रमणको निम्तो दिएको र प्रचण्डले नेपालमा सहमति कायम भए पछि आफू भारत आउने प्रतिबद्धता ब्यक्तगरेको जानकारी दिए ।
काग्रेस आईका सांसद प्रकास चौधरीले नेपाल भारतवीचको परम्परागत सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले आफूहरु नेपाल आएको भन्दै नेपाल र भारतको सम्बन्ध पछिल्लो समयमा अझै प्रगाढ भएको आफूले पाएको बताए । उनले नेपाल भारतवीचको सम्बन्ध रोटी र बेटीको भएकोले यसलाई कसैले चाहेर पनि विगार्न नसक्ने दावी गरे ।
दिल्ली महानगर पालिका की पूर्व मेयर एवम भाजपा नेतृ अर्थि मेहराले आफूहरु भारत र नेपालका महिलाहरुको समान खाल्को चुनौति र समस्या भएकोले महिला शसक्तिकरण गर्ने उद्देश्य लिएर नेपाल आएको जानकारी दिदै भ्रुण हत्या, शिक्षा, रोजगारी, विवाहको विषयमा समान खालको संस्कार भएको बताईन ।
नेपालमा लोकतन्त्र र त्यसप्रतिको आस्था कायम रहोस भन्ने कामना गर्दै उनले नेपालमा स्थिर सरकार निर्माणको लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन ।
भारतीय जनता पार्टीका यूवा नेतृ ध्वनी शर्माले नयाँ नेपाल निर्माणको लागि नेपाली यूवाहरुलाई अघि आउन आब्हान गर्दै ५३ प्रतिसत महिला रहेको मुलुकको विकासको लागि संगठित महिलाको आवश्यकतामा जोड दिईन ।
उनले जहाँ नारीको ईज्जत हुन्छ त्यहाँ ईश्वरको बास हुने भन्दै नेपालको राजनीतिमा नारीको प्रतिनिधित्वको वकालत गरिन ।
पञ्जाव विश्व विद्यालयका सचिव प्रोफेसर सुरेन्द्र पाल सिह आलुवालीयाले नेपाल र भारतवीच रोटी बेटीको सम्बन्ध भएको भन्दै नेपालमा शान्ति र सुख भए भारतमा पनि त्यसको प्रभाव पर्ने बताए ।
कलाकार राकेश जैसवालले नेपाललाई सक्रमणबाट बाहिर निकाल्न यूवा अघि बढ्नु पर्नेमा जोड दिदै लोकतन्त्र र विकासको लागि सरकारमाथि दवाव दिनु पर्ने बताए । उनले नेपालको विकासमा सधै भारतको सहयोग हुने विश्वास समेत ब्यक्त गरे ।